जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस

  • २३ मंसिर २०७८, बिहीबार

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो ।

जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । जनताको सेवा नै आफुहरुको जिम्मेवारी भएको बताउँदै अध्यक्ष राइले जनप्रतिनिधि चढ्न गाडी किन्ने पैसाले जनताका लागि सार्वजनिक बस किनेको बताए ।

उदयपुर सदरमुकाम गाईघाटदेखि लिम्चुङबुङको केन्द्र बराहस्थित राईचोकसम्म बसको ‘रुट पर्मिट’ तोकिएको छ । लिम्चुङबुङदेखि गाईघाट सम्मको दूरी ६५ किलोमिटर छ । ६५ किलोमिटर कच्ची सडक पार गर्दा ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
तर गाउँपालिकाले संचालन गरेको बसमा बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरूलाइ ५० प्रतिशत, कृषक, उद्यमीहरूका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत र विद्यार्थीले १० प्रतिशत भाडा छुट पाउने लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी दिए ।

केही वर्ष अघि मात्र सडक पुगेको लिम्चुङबुङमा निम्न वर्गका नागरिकहरु चर्को भाडा तिर्न बाध्य थिए । चार पाङग्रे सवारीसाधन खरिदका लागि आएको रकमले जनताका लागि सार्वजनिक बस किनेका पालिकाका जनप्रतिनिधिहरूले सवारी साधनको रूपमा मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।