नवौ भेडेटार फुड फेष्टिवल हुँदै, प्याराग्लाइडिङ, र्याफ्टिङदेखि हेलिकप्टर चढ्नेसम्मका सुविधा

एक करोडको कारोबार हुने अपेक्षा

  • १३ पुष २०७८, मंगलवार

ईश्वर थापा, धनकुटा/ प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिवल हुने भएको छ।

होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल गर्ने भएको हो। भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबै भन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र बिषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए। तर, यो वर्ष कोभिड १९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए।

धरान र धनकुटाको पर्यटन प्रर्वद्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएसन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए। २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन।

तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानिय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ।

फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट – चतरा र्याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ।

त्यस्तै डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ।
तिन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरि १५ विविध प्रकारका स्टलहरु हुनेछन। फेष्टिवलमा करिब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ।

करिब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ। फेष्टिबल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ। यस्तै प्रवद्र्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन। फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताईएको छ।

फेष्टिवलको अवधिमा ६ हजार ६ सय रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइटमा १५ प्रतिशत छुटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए। यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छुट गरिने आयोजकले जनाएको छ।
भेडेटार धरान जीपलाईन यसअघि एक हजार २ सय, १ हजार ५ सय र २ हजारमा हुँदै आएको छ।                                   हरदम चिसो मौसम रहने धनकुटा देखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ।