विभिन्न कार्यक्रमसहित भगवती माविले मनायो ५८ औँ वार्षिक उत्सव
प्रसस्त साधन श्रोत भएपनि पछाडि पर्दैछ स्कुल
- २२ पुष २०७८, बिहीबार
मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा अबस्थित भगवती माविले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवको अबसरमा, प्रत्येक कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको छ । सोही अबसरमा गायन, नृत्य लगायत अतिरिक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने छात्र छात्रलाई पनि पुरस्कृत गरिएको छ । सो अवसरमा विद्यालयका चन्दादाता, सहयोगी तथा लामो समय सेवा गरेर हालै सेवा निवृत्त भएका निवर्तमान प्रधानाध्यापक मानबहादुर कार्कीसहित पूर्व शिक्षकहरूलाई पनि सम्मान गरिएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेको विद्यालयको वार्षिक उत्सवमा पुरस्कार बितरण, सम्मान, छलफल र विभिन्न साँंस्कृतिक कार्यक्रम पनि गरिएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप थापाको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक नारायण प्रसाद आचार्यले विद्यालयको अबस्था, प्रगति विवरण र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र बेलबारीका नगर कमिटी अध्यक्ष पर्शुराम सुवेदी, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, कबीर माविका प्रधानाध्यापक प्रेम कार्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू हरिबहादुर बस्नेत, शिवप्रसाद बराल, विद्यालयका पूर्व प्रधानाध्यापक सदानन्द सुवेदी, कबीर माविका पूर्व प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, नेकपा एमाले नगर कमिटी सचिव शंकर गुरुङ लगायतको उपस्थिति थियो ।
बार्षिकोत्सव कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरको शिक्षालाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको बताए ।
बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले वालवालिकालाइ सानैदेखि मेहनत गर्न सिकाउने संस्कारयुक्त शिक्षा सिकाउनुपर्ने र क्षतिपूर्तिसहितको शिक्षा प्रणाली अपनाउनु जरुरी भएको बताए । उनले सात आठ बर्षपछि स्थापना भएको छिमेकी सुकुना मावि जस्ता स्कुलको प्रगति र शैक्षिक प्रगतिबाट भगवती स्कुलले पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप थापाले नगरपालिका स्तरीय शिक्षामा अपेक्षाकृत रूपमा परिवर्तन हुन नसकेको भएपनि भगवती माविलाई एउटा राम्रो विद्यालयको रूपमा विकास गर्न आफू लागिपरेको बताए ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसालै नियुक्त भएका प्रधानाध्यापक नारायणप्रसाद आचार्यले आफ्नो जिम्मेवारीलाई सफल रूपमा अगाडि बढाउन धेरै चुनौती भए पनि त्यसलाई अवसरको रूपमा प्रयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र बेलबारीका नगर कमिटी अध्यक्ष पर्शुराम सुवेदीले नगरपालिकाले एकलकाँटे तरिकाले शिक्षा ऎन बनाएको र राजनीतिक दल तथा शिक्षकहरुको सुझावलाई नसमेटेको कारण नगरभित्र शैक्षिक क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए ।
प्रसस्त साधन श्रोत भएपनि पछाडि पर्दैछ स्कुल
राजमार्ग किनारमै भएपनि केही बर्षयता भगवती माविको शैक्षिक अबस्था खच्कँदै गएको छ । ५८ औं वार्षिकोत्सव कार्यक्रम मनाइरहँदा पनि स्वयंसेवकको कमी झल्कन्थ्यो । सम्मान कार्यक्रम, विद्यार्थीहरुलाइ पुरस्कार बितरण जस्ता कार्यक्रम भइरहँदा फोटा खिच्ने र अभिलेख राख्नेहरुको कमी भएको महसुस हुन्थ्यो । स्टेजमा प्लास्टिकका कपमा चिया खाएका केही अतिथिहरुले बिस्कुटका खोल र कप फाल्ने ठाउँ नभेटेर यत्रो स्कुलमा एउटा डस्फिन पनि रहेनछ कि क्याहो !’ भन्दै गरेको सुनिन्थ्यो । शैक्षिक, भौतिक तथा कतिपय ब्यबस्थापनको कमी र राजनीतिक खिचातानीका कारण केही बर्षयता विद्यार्थीहरुको आकर्षण पनि घट्दै गएको छ । हाल बिद्यालयमा ४ जना कर्मचारी सहित ३४ जना शिक्षक शिक्षिका र १ हजार ४१ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा पुस्तकालय, ल्यापटप, प्रोजेक्टर, बिज्ञान प्रयोगशाला जस्ता सुविधा भएपनि उल्लेखनीय शैक्षिक प्रगति हुन सकेको छैन ।
भगवती माविको स्वामित्वमा ११ वटा कित्ता भएको २ बिघा, ३ कठ्ठा १ धुर जग्गा छ । जग्गादाताले दिएको जग्गामध्ये १६ कठ्ठा ११ धुर क्षेत्रफल जग्गा विद्यालय परिसरले ओगटेको छ । विद्यालयले एक दुई ठाउँको जग्गालागि भवन तथा टहरा बनाई ब्यबशायिक प्रयोजनका लागि भाडामा समेत लगाएको छ ।
आमा बुबाका नाममा न्यौपानेले स्थापना गरे १ लाखको अक्षय कोष
विद्यालयको ५८ औँ वार्षिक उत्सवको अवसर पारेर बेलबारी ३ स्थित सुविधा मेडिकल हलका सञ्चालक प्रकाश न्यौपानेले बुबा–आमाका नाममा विद्यालयका नाममा ६ लाख ५१ हजारको अक्षय कोषको स्थापनाको घोषणा गरेका छन् ।
गरिब तथा विपन्न बालबालिकालाई अध्ययनमा सहयोग पुगोस् भनेर आफूले छात्रवृत्तिको स्थापना गरिदिएको न्यौपानेले बताए ।
यसै विद्यालयबाट २०४४ सालको प्रवेशिका परीक्षामा सामेल भएका पूर्व विद्यार्थीहरूले पनि यसअघि १ लाख १ हजार बराबरको अक्षय कोषको घोषणा गरिसकेका छन् ।
विद्यालयमा २०७८ असार मसान्तसम्म ८ लाख ४१ हजार रुपैयाँको अक्षयकोष रहेको प्रधानाध्यापक नारायण प्रसाद आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । – अम्बिका भण्डारी