सुन्दरहरैंचामा भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना, ६ हजारभन्दा बढीले लालपुर्जा पाउँदै

  • २२ माघ २०७८, शनिबार

राष्ट्रिय भूमि आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच भूमिसम्बन्धी समस्या समाधानका लागि एक महिनाअघि भएको द्विपक्षीय सम्झौता कार्यान्वयनका लागि सुन्दरहरैंचाको सलकपुरमा राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र स्थापना भएको छ ।
लामो समयदेखि भोगचलन गर्दै आएका
सुन्दरहरैँचा नगरपालिकाभित्र बसोबास गर्दै आएका ६ हजार ७२ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लाल पुर्जा) वितरण गर्ने उद्देश्यका साथ कार्यालयको स्थापना गरिएको हो ।

पुस २४ गते राष्ट्रिय भूमि आयोग र सुन्दरहरैँचा नगरपालिकाबीच भूमिसम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय सम्झौता भएको थियो । सम्झौतासंगै लामो समयदेखि भोगचलन गर्दै आएका नगरका ६ हजार ७२ जना सुकुम्बासीहरुले जग्गाधनी प्रमाणपूर्जा पाउने भएका छन् ।

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष केशवप्रसाद निरौला, नगरप्रमुख शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, केन्द्रीय सदस्य सरिता महर्जन, भूमि आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे, १२ वटै वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले आफ्नै कार्यकालमै सुकुम्बासीलाई लालपुर्जा दिने गरी काम भइरहेको बताए । भूमिहीन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइने र लक्षित वर्गलाई समेटेर अघि बढ्ने ढकालले बताए ।
मोरङमा १७ वटा पालिकामध्ये पहिलो चरणमा कानेपोखरी, पथरी लगायत  ६ वटा पालिकामा भुमिहीनहरुलाइ जग्गा लालपुर्जा बितरणको तयारीको लागि २० गतेबाट गि प्राविधिक टोलीले काम थालेको छ ।