बसमय बन्दै बेलबारीका आधा दर्जन सामुदायिक स्कुल, भगवती माविले पनि किन्यो स्कुलबस

  • १६ फाल्गुन २०७८, सोमबार

मोरङको बेलबारी ३ मा रहेको यस क्षेत्रकै पुरानो भगवती माध्यमिक बिद्यालयले स्कुल बस खरिद गरेको छ ।
विद्यालयले २७ लाख १२ हजारको लागतमा बस खरिद गरी सञ्चालनमा ल्याएको हो । बस खरिदका लागि बिद्यालयले १५ लाख र बेलबारी नगरपालिकाले १२ लाख १२ हजार लगानी गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रताप थापाले जानकारी दिए ।

बेलबारी नगरपालिका क्षेत्रभित्रका विभिन्न सामुदायिक बिद्यालयहरुमा यसै बर्षदेखि स्कुल बस सञ्चालन हुन थालेका छन् । गत असोजमा बेलबारी १ को जनता मावि, बेलबारी ८ को जनता मावि र बेलबारी ९ को जनता नमुना माविलाई बेलबारी नगरपालिकाले एक एकवटा बस हस्तान्तरण गरेको थियो ।
बेलबारी १० मा अबस्थित लक्ष्मी माविले पनि पुराण लगाएर संकलित रकमबाट स्कुल बस संचालन गर्ने तयारी गरेको छ । छिमेकी नगर सुन्दरहरैंचाका सुकुना मावि र साजीलाल माविले पनि स्कुल बस संचालनमा ल्याइसकेका छन् । सुकुना माविसँग हाल दुइवटा स्कुल बस छन् ।
नगरका बिभिन्न वडाबाट बिद्यालय आउन र घर फर्कन  बिद्यार्थीहरुलाई सहज होस् भन्ने अभिप्रायले भगवती माविको लागि बस खरिद गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष थापाले बताए ।