शिक्षकले विद्यार्थीलाई जबर्जस्ती गरेको भन्दै लेटाङमा झडप, एक प्रहरीको मृत्यु
- ७ चैत्र २०७८, सोमबार
मोरङको लेटाङ ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षिया एक वालिकालाई जबरजस्ती करणीको प्रयास गरेको बिरोधमा भएको झडपमा घाइते भएकी एक प्रहरी जवानको मृत्यु भएको छ ।
आक्रोशित अभिभावक र विद्यार्थीले आइतबार प्रहरी नियन्त्रणमा रहेका आरोपित शिक्षकमाथि आक्रमण प्रयास गरेपछि भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
विद्यार्थीले आरोपित शिक्षकमाथि लाठी मुङ्री गर्ने क्रममा घाइते भएकी श्रेष्ठको उपचारका लागि लेटाङस्थित शुभकामना अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।
बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो । प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट प्रहरी कार्यालय लगेको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए ।
स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घर मै गएर जबरजस्ती प्रयास गरेका थिए । घरमा कोही नभएको बेला पुगेका शिक्षक पौडेलले जवरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् । बालिकाको प्रतिकारपछि पौडेल त्यहाँबाट भागेका थिए । लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।
यस अघि पनि दुईपटक किशोरीहरू माथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुन यस्ता घटना नदोहो¥याउन चेतावनी दिइएको बताइएको छ ।
पीडित विद्यार्थीले आफू माथि भएको अभद्र ब्यबहार अभिभावक र माथिल्लो कक्षाका साथीहरूलाई सुनाएपछि विद्यार्थीहरू आक्रोशित भएका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरिदिएका छन् । विद्यार्थीले शिक्षकलाई मार्ने भन्दै धावा बोलेपछि प्रहरीले दिनभर शिक्षक पौडेललाई बिद्यालय भित्रै संरक्षण दिएको थियो ।
छिमेकी विद्यालयका बिद्यार्थी र अभिभावक समेत भेला भएर शिक्षक पौडेल बिरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्स माथि पनि ढुङ्गा मुडा गर्न थालेपछि प्रहरीले चालिस राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र बिद्यार्थी बीच झडप हुँदा केही विद्यार्थी समेत घाइते भएका छन् । स्थानीयले शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गर्न खोजेपछि प्रहरीद्वारा रोक्ने प्रयासमा झडपको स्थिति सृजना भएको थियो । आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड पनि गरेको थियो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीका अनुसार झडपमा केहि विद्यार्थी र १६ जना सुरक्षाकर्मी घाइते भएका छन् । यसैबीच लेटाङमा सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अर्को निर्णय नभएसम्म लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गंगेचौक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा बिहान ७ बजेदेखि कर्फ्यु लगाउने निर्णय भएको हो ।