प्रगतिशील लेखक संघ प्रदेश १ मा तिलाको नेतृत्व, ३९ सदस्यीय समिति गठन
रास्ट्रिय सम्मेलनको तयारी गर्दै प्रलेस
- १५ चैत्र २०७८, मंगलवार
बामपंथी लेखकहरुको साझा संस्था प्रगतिशील लेखक सङ्घ (प्रलेस) प्रदेश नं १ को दोस्रो सम्मेलनले मोरङ बेलबारीकी तिला लेकालीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
मोरङको बेलबारीमा सम्पन्न प्रलेस प्रदेश सम्मेलनले समिति चयन गरेको हो । नव गठित समितिमा राम खरेल र दिनेश थापा उपाध्यक्ष, राजेन्द्र सर्वहारा सचिव, अशोक खनाल सह–सचिव र सिर्जना सरोवर कोषाध्यक्ष छन् ।
नवनिर्वाचित समितिका सदस्यहरुमा मायामितु न्यौपाने, खगिन्द्रा खुशी, दिलिप घिमिरे, कविता केशरी, भवानी प्रसाद पोख्रेल, सरस्वती न्यौपाने, उदय भट्टराई, चन्द्रनारायण चौधरी, दुर्गा परियार, घनश्याम ढकाल, इन्द्रनारायण सुवेदी, अनिल सुवेदी, लीला अधिकारी, माधव पोख्रेल, बिदुर सुवेदी, टंकमिलन घिमिरे, दिवाकर भण्डारी, रमेश कोर्खाली, रमेशचन्द्र अधिकारी, कमल भट्टराइ, दुर्गा लिम्बु (सानू कोवित), देवीप्रसाद संग्रौला, ओम श्रमिक र लक्ष्मी ढुंगाना छन् ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा.जिवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा भएको प्रदेश अधिवेशनमा सोमराज अभय, कुन्ता शर्मा, बलराम पोखरेल, चूडामणि रेग्मी, विश्वराज पाण्डे, कृष्ण श्रेष्ठ, जसराज किराँती, माधव भण्डारी, कमल जङ्गली, सरोज वली, रुद्र निरौला लगायतलाई सम्मान गरिएको थियो ।
अवरसरमा प्रलेसको ‘सङ्गठन र साहित्य’ तथा प्रलेस मोरङको ‘नियात्रा’ नामक कृतिको विमोचनसमेत गरिएको थियो ।
त्यसैगरी मोरङ बेलबारीमा प्रगतिशील लेखक सङ्घ नेपालका संस्थापक श्यामप्रसादको सालिक समेत अनावरण गरिएको छ । प्रलेसको प्रदेश सम्मेलनको अबसरमै अनावरण गरिएको सो शालिक बेलबारीमै रहने प्रलेस प्रदेश १ अध्यक्ष तिला लेकालीले बताइन् ।
प्रगतिशील लेखक संघको प्रदेश सम्मेलनमा कार्यसम्पादनका आधारमा प्रलेस उदयपुर र सुनसरीलाई प्रदेशकै उत्कृष्ट जिल्ला घोषणा गरिएको छ । त्यसैगरी झापा दोस्रो र तेह्रथुम तेस्रो जिल्ला घोषित भएको प्रलेसका प्रदेश सचिव राजेन्द्र सर्वहाराले जानकारी दिए ।
प्रदेश अधिवेशन कार्यक्रममा एकीकृत समाजवादीको केन्द्रीय सदस्य विद्या चाम्लिङ, एमालेका नेता एवम् पूर्व मन्त्री तुलसी न्यौपाने, प्रा.डा. वद्रीविशाल पोखरेल, स्रष्टा समाजका उपाध्यक्ष अमृत आचार्य, सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, जन सांस्कृतिक महासङ्घ प्रदेश नं १ का अध्यक्ष जेबी थुलुङ, विराट साहित्य समाजका अध्यक्ष उमनाथ भट्टराई, अखिल नेपाल लेखक सङ्घ केन्द्रीय उपाध्यक्ष सुमित्रा बाङ्देल लगायतको उपस्थिति थियो ।
रास्ट्रिय सम्मेलनको तयारी मुलुकका सबै वामपन्थी पार्टी आबद्ध लेखक एवं स्रष्टाहरुको पुरानो संस्था प्रलेसको राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।
सम्मेलनका लागि विभिन्न समिति तथा उपसमितिहरु निर्माण भैसकेका छन् । हालसम्म प्तीन दर्जनभन्दा बढी जिल्ला सम्मेलन र ६ प्रदेश सम्मेलन भइसकेको बताइएको छ ।
प्रलेसको रास्ट्रिय सम्मेलनका अवसरमा ‘प्रलेस’ २६ औँ विशेषाङ्कका साथै नेपाली, मैथिली, मगर, लिम्बू र गुरुङ भाषाको ‘प्रलेस इतिहास भाग १’ पनि सार्वजनिक गरिने छ । प्रलेसले यसअघि ‘चालिस दशकका प्रगतिशील कविता’ प्रकाशन गरिसकेको छ ।
प्रलेस प्रतिभा पुरस्कारको लागि अक्षयकोष स्थापना गरेको छ । हालसम्म अक्षयकोषमा साढे ६ लाख जम्मा भइसकेको छ ।
प्रगतिशील लेखक संघको स्थापनाविसं २००९मा भएको थियो । केवलपुरे किसान, बालकृष्ण पोखरेल आदिको सक्रियतामा २००९ असोज ५ गते संस्था स्थापना भएको थियो । संस्थामा करीब दुई हजार सदस्य छन् ।