मोरङका कुन पालिकामा कुन-कुन दलबाट को बने उम्मेद्वार ?
- १३ बैशाख २०७९, मंगलवार
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेले मोरङका अधिकांश स्थानीय तहमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
अरु जिल्लामा गठबन्धन भए पनि मोरङका एक दुइवटा बाहेक सबै स्थानीय तहमा प्रमुख दुई पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रेका हुन् ।
नेकपा एमालेले केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपमेयरमा मनमाया लुंगेली मगरलाई उम्मेदवार बनाएको छ ।
केराबारीमा कांग्रेसले जनता समाजवादी र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गर्दै निवर्तमान गाउँपालिका अध्यक्ष रोहित वहादुर कार्कीलाई अघि सारेको छ । उपाध्यक्षका लागि जसपाबाट सुभद्रा राईले मनोनयन गरेकी छिन् ।
त्यसैगरी नेकपा माओबादी केन्द्रले अध्यक्षमा तिलक मगर र उपाध्यक्षमा केराबारी ९ की इन्दिरा दाहाललाई उम्मेदवार बनाएको छ । केराबारीमा राप्रपा लगायत केही दलले पनि उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले बताए ।
नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिकाको मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु कोइरालालाइ टिकट दिएको छ । नेकपा एमालेले बेलबारी नगरपालिकाको मेयरमा डीपी राई र उपमेयरमा तिलकुमारी न्यौपाने ( तिला गौतम) लाई उम्मेद्वार बनाएको छ ।
सुन्दरहरैँचा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा केदार गुरागाई र उपमेयरमा अक्कली चौधरी उपमेयर पदका उम्मेद्वार बनेका छन् । कांग्रेसबाट निवर्तमान मेयर शिव ढकालले नै मेयरको टिकट पाएका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रबाट नवराज चापागाईंले उम्मेदवारी दिएका छन् ।
लेटाङ नगरपालिकामा कांग्रेसबाट ज्ञानेन्द्र ढकाललाई मेयर र माओवादीबाट कृष्ण लम्साल (अनन्त) उपमेयरको उम्मेदवार बनेका छन् । त्यस्तै एमालेबाट भुपेन्द्र लावती मेयर र कृष्ण कुमारी निरौला उपमेयरको उम्मेदवार बनेका छन् ।
यसैगरी उर्लाबारीमा कांग्रेसबाट निवर्तमान मेयर खड्ग फागो मेयर र सीता कार्की उपमेयर, एमालेबाट गंगा खरेल र मिना पौडेल उपमेयरको उम्मेदवार बनेका छन् । पथरीशनिश्चरेमा कांग्रेसबाट नगेन्द्रबहादुर सुब्बा मेयरमा र कविता पराजुली उपमेयर छन् ।
रतुवामाई नगरपालिकामा कांग्रेसबाट नागेश्वर प्रसाद सिंह मेयर, एमालेबाट प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, सुनवर्षी नगरपालिकामा कांग्रेस बाट यज्ञ कार्की मेयर तथा एमालेबाट श्याम गनगाईको प्रमुखमा र मीराकुमारी दासको उपप्रमुखमा उम्मेदवारी परेको छ । रंगेली नगरपालिकाम कांग्रेसबाट मोदराज घिमिरे र कौशिला देवी मण्डल र एमालेबाट प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ ।
त्यसैगरी कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी कांग्रेसबाट उम्मेदवार बनेका छन् । ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाटै बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट उम्मेदवार बनेका छन् ।
सुनवर्षी नगरपालिकाको प्रमुखमा एमालेबाट श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुङ्ग्याइएको छ । एमालेबाट रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको एमालेले जनाएको छ ।
यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा एमालेबाट मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ ।