पैसा बाँढ्न खोजेको भन्दै धनकुटामा स्थानीयले पक्रिए एमाले नेताहरूलाइ

  • २८ बैशाख २०७९, बुधबार

मौन अवधिमा धनकुटाको छथर जोरपाटीका मतदातालाई प्रभावित पार्न नगद बाँड्न लागेको भन्दै स्थानीयले ३ जना एमाले नेतालाई लिएर प्रहरीलाई जिम्मा लगाएका छन्।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ मा नगद सहित फेला पारेर स्थानीयले एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुली, एमाले प्रदेश कमिटी सदस्य तथा छथर जोरपाटी निर्वाचन संयोजक बलदीप राई र एमाले जिल्ला कमिटि सदस्य दिवेश खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको स्थानीय एक शिक्षकले बताए।

पराजुली, राई र खड्काले छथर जोरपाटी गाउँपालिका वडा नं. ५ मा मंगलबार दिँउसैदेखि मतदाता धम्क्याउने काम गरि रहेको र बेलुका नमान्नेको घरमा रकम लिएर पुगेको ती शिक्षकले बताए।

लिम्बू समुदाय रहेको सो गाउँमा मतदातालाई बाँड्न ती एमाले नेताहरु लागि परेको स्थानीय बासिन्दा बताउँछन्। त्यसपछि स्थानीयले रकम बाँड्नुअघि नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीबी दाहालले मतदातालाई बाँड्न लगिएको रकमको विषयमा जानकारी नभए पनि छथर जोरपाटीमा केही व्यक्तिलाई स्थानीयले पक्राउ गरेको र उनीहरुसँग केही रकम रहेको भन्ने जानकारी आएकोले आफ्नो नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगी अनुसन्धान गरिरहेको बताए ।