धनकुटाको चौबिसेमा एमाले र साँघुरीगढी तथा छथर जोरपाटीमा गठबन्धन बिजयी

  • २ जेष्ठ २०७९, सोमबार

धनकुटाका सात पालिकामध्ये तीन पालिकाको मत गणना सकिँदा एकमा एमाले र दुई पालिकामा गठबन्धनले प्रमुख पद जितेका छन् ।

चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका राजकुमार लिम्बू विजयी भएका छन् । लिम्बूले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन्। उनले पाँच हजार ३८ मत ल्याउँदा मगरले तीन हजार ९९१ मत ल्याएका छन् ।
सो पालिकामा जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरी  एमालेकी टंकमाया मगर उपाध्यक्ष निर्वाचित भएकी छिन् । उनले चार हजार ९ सय ८३ मत पाएकी छिन् भने चेम्जोङले ३ हजार ९ सय ८८ मत पाएका थिए ।
चौबिसेको अन्तिम मत परिणामअनुसार वडा नं. २, ३, ४, ५ र ८ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. १, ६, र ७ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका छत्रबहादुर सुब्बा  र उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रकी गीता खेवा विजयी भएका छन्।

बिजयी सुब्बाले ४ हजार ३ सय ५९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरे ।अध्यक्षका प्रतिद्वन्द्वी एमालेका लिम्बुले ४ हजार १ सय ६४ र उपाध्यक्षमा बिजयी गीता खेवाले ४ हजार ३ सय ८७ मत र निकटतम प्रतिद्वन्दी गोमा कार्कीले ३ हजार ६ सय ९१ मत प्राप्त गरे ।

छथर जोरपाटी गाउँपालिकाका छ वटै वडाको मत परिणामअनुसार वडा नं. १, २, ५ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। वडा नं. ३ र ४ मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र राई निर्वाचित भएका छन्।

राईले अघिल्लो निर्वाचनमा आफैंलाई पराजित गर्ने निकटम प्रतिद्वन्दी नेकपा एमालेका कुमार जंग याखालाइ पराजित गर्दै विजयी भए । बिजयी राइले ६ हजार ३ सय ९९ मत ल्याए भने याखाले ४ हजार ८ सय २८ मत  प्राप्त गरे।
उपाध्यक्षमा भने एमालेका मुना राई ले ४ हजार छ सय पचास मत पाएर निर्वाचित भएकी छिन्। उपाध्यक्षमा जसपाका लिलाराज लावती ४ हजार १ सय ३६ मतसहित उप बिजेता भएकी छिन् ।