नागेश कोइराला बने बिराटनगर महानगरपालिकाको मेयर, उपमेयरमा शिल्पा बिजयी
- ७ जेष्ठ २०७९, शनिबार
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी भएका छन्।
मेयरमा कोइरालाले ३० हजार १७० मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाए । जसपा छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाए।
विरोटनगरको मेयरमा कांग्रेसले लगातार दोस्रो पटक जित हासिल गरेको थियो। २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भएका थिए। उनले २३ हजार ३१ मत ल्याउँदा एमालेका विनोद ढकालले १७ हजार ३२४ मत पाएका थिए।
उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले २५ हजार ६८० मत ल्याएर बिजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएर पराजित भए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
उपमेयरमा तेस्रो स्थान प्राप्त गरेकी राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत पाइन्।
१९ वडा भएको विराटनगरमा सबैभन्दा धेरै ९ वटामा एमाले विजयी भएको छ। कांग्रेसले ६ वटा वडा जित्दा जसपाले दुई वटा र राप्रपाले एउटामा जित हासिल गरेका छन्। एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। अघिल्लो स्थानीय निर्वाचनमा मेयर र उपमेयर सहित ८ वडा कांग्रेसले जितेको थियो।