केराबारी स्वास्थ्य चौकी अब बन्यो पालिका अस्पताल, फिजियोथेरापी र स्वास्थ्य बीमा पनि सुचारू

  • २२ श्रावण २०७९, आईतवार

केराबारी स्वास्थ्य चौकीबाट स्तरोन्नति भएको केराबारी पालिका अस्पतालले विभिन्न सुबिधासहित १२ घण्टे स्वास्थ्य सेवा शुरु गरेको छ।

अस्पतालमा विरामीको चाप बढ्दै जान थालेपछि अस्पतालले १२ घण्टे सेवा शुरु गरेको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले साउन १८गते रिबन काटेर १२ घण्टे स्वास्थ्य सेवाको उद्घाटन गरेका छन् ।

१२ घण्टे सेवा सुचारु भएसंगै अस्पतालले फिजियोथेरापी सेवा, दैनिक ओपिडी सेवा र स्वास्थ्य बीमा सेवा पनि दिन थालेको छ । हाल दैनिक विहान ६ देखि साँझ ६ वजेसम्म स्वास्थ्य सेवा संञ्चालन भइ रहेको अस्पतालका प्रमुख गोकर्ण पराजुलीले बताए ।

विरामीलाई स्वास्थ्य संस्थाबाट सकेसम्म सहज र छिटो छरितो ढंगबाट सेवा प्रदान गर्ने गरी अस्पतालमा २ जना मेडिकल अफिसर, २ जना हेल्थ असिसटेन्ट, ३ जना स्टाफ नर्स, ३ जना अनमी, २ जना, सिअहेव, २ जना ल्याव टेक्निसियन र ३ जना कार्यालय सहायक सहित १९ जना स्वास्थ्य कर्मचारीहरुको व्यवस्थापन गरिएको स्वास्थ्य प्रमुख पराजुलीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट २ पटक पुरस्कृत समेत भएको साबिक केराबारी स्वास्थ्य चौकीमा विगत एक दशकदेखि गर्भवती जाँच तथा २४ घण्टे सुत्केरी सेवा संञ्चालन हुदै आएको छ ।