पुर्वमा यसै बर्षदेखि बिस्तार हुन थाल्नेभो महेन्द्र राजमार्ग, डीपीआरको काम अन्तिम चरणमा

  • २८ श्रावण २०७९, शनिबार

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकही अर्थात सप्तकोसीसम्म १ सय २० किलोमिटर राजमार्ग यसै बर्षदेखि बिस्तार हुन थाल्ने भएको छ ।

एसियाली विकास बैंक र बिश्व बैंकको सहयोगमा कूल २८ अर्ब १७ करोड लागतमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो । तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको राजमार्ग ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित ५० मिटर चौडाइको हुनेछ । राजमार्ग किनारका काँकडभिट्टा, इट्टाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएका बजार क्षेत्रमा आकाशे पुल र अन्डर पास निर्माण गरिने छ । आयोजनाको क्षेत्रमा १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगर गरी १७ पालिका का जम्मा ८२ वटा वडा पर्दछन् ।

‘एसियन हाइवे स्ट्याण्र्डड’ को बन्ने दाबी गरिएको यो सडकको कूल एक सय २० किलोमिटरमध्ये झापामा ५४ दशमलव नौ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम सुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले जानकारी दिए ।

झापाको काँकडभित्तादेखि सुनसरीको लौकहीसम्मको काँकडभिट्टा–लौकही एक सय २० किलोमिटर सडकअन्तर्गत ३ सय ७७ घरका संरचना हटाइने छ ।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ ।
काँकडभिट्टा–लौकही सठक खण्डमा ७१ वटा खोलाहरु पर्दछन् । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु हुनेछन् ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन् । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०÷५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडक दुवैतिर ६.५०/ ६.५० मिटरको हुनेछ । शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।