झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

  • २९ श्रावण २०७९, आईतवार

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ ।

नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो ।

प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १ सय ४७ घरधुरी र भेडेटारमा रहेका १ सय २० भन्दा धेरै होटलहरु लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

लिफ्टबाट तानिएको पानी १ लाख लिटरका तीन वटा ट्याङ्कीमा जम्मा गरिनेछ । जम्मा गरिएको पानी ५० हजार लिटरका २ वटा र १२ हजार लिटरका ३ वटा ट्याङ्कीमार्फत् वितरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले बताए ।

खानेपानी आयोजनाको प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री रामकुमार राई उद्घाटन गरेका थिए ।

यसअघि भेडेटारका व्यवसायीले लिटरको दुई रुपैयाँका दरले ट्याङ्करको पानी किन्ने गरेका थिए । लिफ्टबाट खानेपानी ल्याउन योजना १० वर्ष अघि योजना बनाइए पनि हालै मात्र सो योजनाले साकार रुप लिएको साँघुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र  रुम्दालीले बताए  ।