बेलबारीमा मुटु, मृगौला र क्यान्सरका साढे ५ सय बिरामी, नगरपालिकाले दियो १ करोड ३३ लाख

  • ३१ श्रावण २०७९, मंगलवार

बेलबारी नगरपालिका क्षेत्रमा बिगत पाँच बर्षको अबधिमा क्यान्सर, मुटुरोग र स्पाईनल ईन्जुरी जस्ता दीर्घ रोगका झन्डै साढे ५ सय बिरामी फेला परेका छन्  ।
क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ७९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित पाँच सय ३३ बिरामी फेला परेका हुन् । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्माका अनुसार २०७४ देखि  २०७८०७९ काे  अन्त्यसम्म क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका ५ सय ३३ जना बिरामीले जनही २५ हजारको दरले राहत तथा उपचार खर्च पाएका छन्  । जम्मा ५ सय ३३ जनालाई २५ हजारका दरले उपचार खर्च तथा राहत दिँदा १ करोड ३३ लाख २५ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै २०७९ को साउन महिनामा हेड ईन्जुरीका १ ,मुगौलाका २, मुटु रोगका २ र क्यान्सर रोग लागेका १३ जना बिरामी भेटिएको र उनीहरूलाई राहत तथा उपचार खर्चका लागि   सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख विश्वकर्माले बताए ।
क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई बेलबारी नगरपालिकाले उपचार तथा राहत खर्च दिने गरेको छ ।

नगरपालिकाको हालैको कार्यपालिका बैठकले दीर्घकालीन रोगका बिरामीलाई रोगको प्रकृति  हेरी १० हजारदेखि ४० सम्म उपचार खर्च दिने निर्णय गरेको छ । सो निर्णयपछि हाल कार्यबिधी बन्ने क्रममा रहेको र राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरपालिकाले नसर्ने दीर्घ रोगका बारेमा जानकारी दिने उद्धेश्यले आइतबार गरेको अभिमुखिकरण कार्यक्रम गरेको थियो  । नगरपालिकाको सभाहलमा गरिएको अभिमुखीकरण कार्यक्रममा डा. लक्ष्मण ठाकुरले खानपिनमा ख्याल राखे धेरै रोगहरुबाट बच्न सकिने बताउँदै चिनी रोग लागेपछि रक्त नाली सानो हुनाले हृदयघात जस्ता रोगहरु लाग्ने खतरा हुने बताए । उनले रोग लाग्नु नदिन खानपान र शारीरीक कसरत गर्नुपर्ने  बताए ।

त्यस्तै डा. अस्मिता रायमाझीले  धेरै क्यान्सर छाला, रगत, हड्डी, स्तन, पाठेघर र फोक्सोमा देखिने गरेको तर  प्राय मानिसहरु क्यान्सर तेस्रो स्टेजको  पुगेपछि मात्र डाक्टरमा आउने गरेको बताइन् ।  कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी तथा  स्वास्थ्यकर्मी लगायत बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, प्रमुश प्रशासकीय अधिकृत गणेशराज कार्की लगायतको उपस्थिति थियो ।

क्यान्सरजन्य र दीर्घकालीन जटिल रोगहरुबाट बर्षैनी विश्वमा ४ करोड १० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । – अम्बिका भण्डारी