शाख गुमाउँदै पूर्वाञ्चल क्याम्पस धरान, क्याम्पसको बदनाम गराइएकाे भन्दै अखिलको आपत्ति

  • २ भाद्र २०७९, बिहीबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस इकाइ कमिटी धरानले पूर्वाञ्चल क्याम्पसको क्याम्पस प्रशासन गैह्र जिम्मेवार भएको कारण इन्जिनियरिङ तर्फको पढाइ खच्किएको र क्याम्पसको पनि बेइज्जत भएको भन्दै आपत्ति जनाएको छ ।

युनियनले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित समाचारमा पनि सत्यता नरहेको दाबी पनि गरेको छ । ‘ल्यावै नदेखी इन्जिनियर बन्छन् पूर्वाञ्चल क्याम्पसका विद्यार्थी’ शिर्षकमा पत्रिकाले समाचार प्रकाशित गरेको बिषयमा क्याम्पस इकाइ कमिटीका अध्यक्ष अभिषेक कटुवाल र सचिव इशवर दाहालले हस्ताक्षर गरी निकालेको बिज्ञप्तिमा क्याम्पसमा हुनुपर्ने प्राक्टिकल कक्षाहरु समयमा नभएको तथा गुण्स्तरीय शिक्षक, प्रशिक्षक तथा प्राक्टिकल सामग्रीको अभाबका कारण केही ल्याबहरु नभएको, कक्षाहरु प्रभाबकारी नभएको, प्रयोगशालामा पर्याप्त मेसिन र उपकरणहरु नभएको र प्रयागशाला कक्षाहरु प्रभाबकारी नहुँदा बिद्यार्थीहरुको उपस्थिति पनि न्यून भएको स्वीकार गरिएको छ तर ल्याब नै नदेखी इन्जिनियर भएको कुरा भने सत्य नभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाचारको खण्डनमा भन्दा क्याम्पस प्रशासनप्रति बढी असन्तुष्टि दर्शाइएको बिज्ञप्तिमा आन्दोलनका क्रममा केही बिद्यार्थीले दिएको अभिब्यक्ति बारे सत्यता परिक्षण नगरी बिद्यार्थीको भविश्यका लागि खटिएका शिक्षक, प्रशिक्षक र क्याम्पसको छवि गिराएर समाचार लेखिएको भन्दै असन्तुष्टि ब्यक्त गरिएको छ । त्यस्ता समाचारले पूर्वाञ्चल क्याम्पस धरानबाट उत्पादन हुने इन्जिनियरहरुको भविश्माथि नै प्रश्न चिन्ह खटा हुने दाबी गरिएको छ ।

पत्रिकामा प्रकाशित समाचार बारे खण्डन गर्न बिज्ञप्ति निकालिएको भएपनि त्यसमा क्याम्पस प्रशासन र नियामक निकायप्रति पनि असन्तुष्टि ब्यक्त गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “क्याम्पस प्रशासनलाइ बार बार गुणस्तरीय शिक्षक, प्रशिक्षक र प्रयोगात्मक सामग्रीहरुको माग गर्दा पनि क्याम्पसले बिद्यार्थीका मागको सम्बोधन नगर्नु, इन्जिनियरिङ अध्ययन संस्थानले क्याम्पसको निरिक्षण नगर्नु र क्याम्पसले पाठ्यक्रममा उल्लेखित सबै प्रयोगात्मक कक्षाहरु लिन नसक्नु क्याम्पस प्रशासनको कमजोरी हो ।”

क्याम्पस प्रसशासनको कमजोरी र कसुरकै कारण क्याम्पसको बारेमा पत्रपत्रिकामा समाचार आएको भन्दै अनरास्ववियुले बिज्ञप्तिमा क्याम्पस प्रमूखले आफ्नो कमजोरी लुकाउन ‘त्रिभुवन विश्व विद्यालयले चासो नदिँदा क्याम्पस धराशायी बनेको’ भनी गैर जिम्मेवार र लज्जास्पद अभिब्यक्ति दिएको उल्लेख छ । सार्वजनिक रुपमा प्रश्न खडा भइसक्दा पनि क्याम्पस प्रशासन समस्या समाधान गर्न तत्पर नभए अनेरास्ववियु जस्तोसुकै कदम चाल्न तयार हुने र त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयं हुनुपर्ने   चेतावनी दिइएको छ ।

क्याम्पस प्रशासनको निकम्मा पन र लापरबाहीका कारण पुर्वान्चल क्याम्पस बिगतदेखि नै बेला बेलामा विवादमा आउने गरेको छ । इन्जिनियरिङ जस्तो महत्त्वपूर्ण शिक्षा प्रदान गर्ने जिम्मेवारी लिएको  क्याम्पस प्रशासन र नियामक निकायलाई जिम्मेवार बनाउन र सुधार गर्न आफुहरु पनि लागिपरेको र त्यसो हुन नसके आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियु क्याम्प इकाई कमिटी उपाध्यक्ष जीवन बिष्टले बताए ।