प्रतिनिधि सभाका लागि मोरङमा एमालेबाट को को बन्दैछन् उम्मेद्वार ?

  • ४ भाद्र २०७९, शनिबार

प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका ६ वटा क्षेत्रमा ८ जना दाबेदार खडा हुने भएका छन् ।
जम्मा ६ वटा निर्वाचन क्षेत्र मध्ये ४ वटामा एक-एक जनाको दाबेदारी छ भने दुई वटा क्षेत्रमा दुई दुई जनाले दाबेदारी गरेका छन् ।
मोरङ क्षेत्र नम्बर १ मा वर्तमान सांसद घनश्याम खतिवडा र डाक्टर शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको उम्मेद्वार बन्ने आकांक्षा राखेका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित खतिवडा दोहोरिने सुरमा छन् भने यसअघि समानुपातिक सांसद बनेकी तुम्बाहाङ्फेले प्रत्यक्ष चुनाव लड्ने दाउमा छिन् ।

मोरङ क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा कांग्रेस नेता मिनेन्द्र रिजालसँग पराजित भएका संविधानसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले दाबेदारी प्रस्तुत छन् ।
मोरङ क्षेत्र नम्बर ३ मा बर्तमान सांसद भानुभक्त ढकाल र गुरु बरालले उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर ४ मा मोरङ इञ्चार्ज विनोद ढकालको एकल दाबेदारी छ । क्षेत्र नम्बर ५ मा जीवन विकास समाज लघुवित्त वित्तिय संस्थाका संस्थापक अध्यक्ष समेत रहेका योगेन्द्र मण्डलको एकल दाबेदारी छ ।
त्यस्तै क्षेत्र नम्बर ६ मा २०७४ सालको निर्वाचनमा डाक्टर शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितको मात्रै दाबेदारी छ ।
प्रदेशतर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रदेशसभा सदस्यका लागि भने तीन दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।