५८ लाखको लागतमा  बन्यो लेटाङ नगरपालिका वडा नम्बर ४ को भवन

  • १७ भाद्र २०७९, शुक्रबार

  लेटाङ नगरपालिका वडा नम्बर ४ को कार्यालय आफ्नै भवन बनेको छ ।
जिल्ला समन्वय समिति मोरङको ६० प्रतिशत र लेटाङ नगरपालिकाको ४० प्रतिशत गरी करिव ५८ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । करिब ६ कठ्ठा क्षेत्रफल जग्गामा बनेको  अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवनमा फराकिला प्यासेजसहित ६ वटा कोठा  छन् ।

बाराजी कन्ट्रक्सनले २०७७ चैतमा निर्माणको सम्झौता गरेकोमा २०७९ असारमा निर्माण सम्पन्न गरेर नगरपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।

वडा कार्यालयले नवनिर्मित भवनबाट सेवा प्रवाह शुरु गरेको छ । बुधबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरे । वडाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, लेटाङ ५ का वडाध्यक्ष भूमसूर्य मगर, लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राई, विभिन्न वडाका वडासदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु तथा वडाबासीहरु  उपस्थित थिए । वडा नम्बर ४ नयाँ भवनमा सर्ने पहिलो वडा भएको नगरपालिकाले जनाएको छ ।