सिंहदेवी सामुदायिक वनको नयाँ समितिका लागि चुनाव हुँदै, स्थानीय निर्वाचनकै झल्को

  • ३१ भाद्र २०७९, शुक्रबार

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभामा स्थानीय निर्वाचनभन्दा पनि रोचक चुनावी माहोल छाएको छ ।

असोज १ गते निर्धारित साधारणसभाको पुर्व सन्ध्यामा हाल केन्द्रिय स्तरमा रहेको गठबन्धन दल र एमाले पक्षधरको तँछाड मछाडले चुनावी माहोल गर्माएको हो ।

उम्मेदवारी दर्ताको दिन मंगलबार वनको सन्चालक समितिले बनाएको निर्वाचन समितिको भुमिकाका कारण दिनभरजसो बिवाद भएको थियो । उम्मेदवारी दर्ता हुनुअघि बिहान निर्वाचन समितिले वनको सदस्यमा नाम भएका ब्यक्तिले मात्रै मतदान गर्न पाउने तर निजको परिवारका सदस्यले पनि उम्मेदवार बन्न भने पाउने निर्णय सुनाएको थियो ।

सोही निर्णय अनुसार वनको रेकर्डमा सदस्यका रूपमा नाम उल्लेख भएका ब्यक्तिका परिवारका सदस्यले पनि रसिद काटेर उम्मेदवारी दर्ता गराएका थिए । तर एमाले पक्षका केही उम्मेदवारले उम्मेदवारी दर्ताकै क्रममा बनको सदस्य रहेका ब्यक्ति बाहेक निजको परिवारका अरुलाइ उम्मेदवार हुन दिन नहुने भन्दै बिरोध गरेपछि निर्वाचन आयोगले वन समितिका निवर्तमान पदाधिकारीहरुसँग समेत गोप्य बैठक बसी मतदाता सूचीमा नाम भएका ब्यक्ति बाहेक अरुले उम्मेदवार बन्न नपाउने नियम बनाएको थियो ।

त्यस्तो निर्णय भएपनि मतदाता सुचीमा नाम नभएका ब्यक्तिहरुलाइ उम्मेदवारी दिने क्रम रोकिएन । तर उम्मेदवारी दिने समय सकिएर उम्मेदवारी दर्ता बन्द गरिए लगत्तै मतदाता सुचीमा नाम भएका ब्यक्तिले मात्रै उम्मेदवार बन्न पाउने मापदण्ड उल्लेख भएको सूचना टाँस गरिएको थियो ।

त्यसपछि पहिले नाम नभए पनि उम्मेदवारी दर्ता गराइएका ब्यक्तिसहित एक पक्षले निर्वाचन समितिका संयोजक छविलाल धमलाले राजीनामा दिनुपर्ने भन्दै घेराउ वन कार्यालयको निर्वाचन समिति कार्यकक्षमा घेराउ गरेका थिए । सात जनाको निर्वाचन समिति बनाइएको भएपनि सो दिन दुई तीन जनामात्र उपस्थित थिए । निर्वाचन समिति संयोजक धमलाले कमीकमजोरी स्वीकार गरेपछि माहोल केही शान्त बनेको थियो ।

उम्मेदवारी दर्ता सकिएको करिब १ घण्टापछि उम्मेदवारहरु उपर दाबी बिरोध गर्न १ घण्टा अबधि तोकेर सूचना त निकालियो तर उम्मेदवारी परेका ब्यक्तिहरुको नाम सार्वजनिक नै गरिएन । दाबी बिरोधको निर्धारित अबधि सकिए लगत्तै साँझ ५ बजेपछि बल्ल उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको थियो । जसमा दाबी बिरोध बिना नै निर्वाचन समितिले केही ब्यक्तिहरुको नाम हटाएपछि उपभोक्ताले दाबी बिरोध गरेपछि नाम हटाउनुपर्नेमा निर्वाचन समितिले नै मनोमानी गरेको भन्दै बिवाद भएको थियो । अन्त्यमा मतादाताको सूचीमा नाम भएपनि सरकारी कर्मचारी लगायत केही ब्यक्ति उपर दाबी बिरोध परेको थियो ।

बिहीबार निवर्तमान हुन लागेका सिंहदेवी सामुदायिक वनका अध्यक्ष लालबहादुर कार्कीले सहमतिमै वनको नयाँ समिति बनाउने प्रयासका लागि उम्मेदवारी दिने ब्यक्तिहरु र उपभोक्ताहरुको भेला बोलाएका थिए तर झन्डै आधा दिन उम्मेदवारहरुबिच आरोप- प्रत्यारोप र सफाइ दिने सहितका कुरा माझामाझ भएपनि कुनै सहमति हुने संकेत देखिएन ।

सर्वसम्मत नहुने भएपछि बिहीबार अध्यक्षका पाँच उम्मेदवार मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सिंहदेवी सामुदायिक वनको नयाँ समितिमा अध्यक्षका लागि भीमबहादुर कार्की, नरबहादुर मगर र यादव सुवेदी गरी तीन जनाबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उमेद्धवारको अन्तिम नामावली अनुसार उपाध्यक्षका लागि दिपा वास्तोला र मञ्जु लामिछाने, सचिवका लागि योगेन्द्रप्रसाद चौलागाई र गोविन्दप्रसाद (ज्ञानु) बास्कोटा, सह सचिवका लागि दिलबहादुर कार्की र अजित कुवर तथा कोषाध्यक्षका लागि
कृष्णा (सीता) निरौला (बराल) र मनिषा सुवेदीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी महिला सदस्यका लागि भावना तिम्सिना वास्तोला, सजिना (गीता) वास्तोला, फुलकुमारी पण्डित राई, पवित्रा बास्तोला चौलागाई, देऊकुमारी खड्का, चन्द्रकला पण्डितको उम्मेदवारी छ । पाँच जनामध्ये ४ जना निर्वाचित हुनेछन् ।

दलित महिला सदस्यमा कमला सिवा र दलित सदस्यमा सार्के रसाइली निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खुला सदस्यका लागि जगदिश शर्मा, युवराज कटुवाल, धिरेन्द्रबहादुर कार्की, देवकुमार लिम्बु, महेन्द्रकुमार राई बिच प्रतिस्पर्धा हुने भएको छ ।

लेखा संयोजकका लागि विनोदप्रसाद सुवेदी र चिरञ्जीवी खड्काबिच चुनावी प्रतिस्पर्धा हुने टुंगो लागेको छ । लेखा समितिका दुई सदस्यका लागि भरत खड्का, भरतराज कार्की र टेकबहादुर (राजेन्द्र) दासबिच प्रतिस्पर्धा हुनेछ ।

उम्मेदवार टुंगो लागेपछि बिहीबार बेलुकादेखि नै गठबन्धन पक्षधर र एमाले पक्षधर उम्मेदवारहरु घर घरमा भोट माग्न ब्यस्त छन् । तर दुई वन समुहको सदस्य रहेका उपभोक्तालाइ मताधिकार दिने निर्णय भने विवादरहित बन्न सकेको छैन । यस वनमा ३ सय ८५ जना उपभोक्ताले मतदान गर्न पाउनेछन् ।

त्यसो त केराबारी ९ कै देवीझोडा सामुदायिक वनमा पनि गत हप्ता त्यस्तै रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । नेतृत्वमा लागि माओवादी पक्षधर दुई उम्मेदवार मध्ये गोबिन्द बस्नेत बिजयी बनेका थिए ।