उपचार खर्च नभएर छटपटाइरहेका मुटुरोगीको सुनिल शर्माले गराइदिए निशुल्क उपचार
- २ आश्विन २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले अभावमा उपचार गर्न नसकिरहेका मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् ।
बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।
स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति नभएका चौधरीको परिवारलाइ उपचार कसरी गराउने भन्ने समस्याले पिरोलेको थियो ।
डा.शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिए । विपन्न नागरिक औषधि उपचार कोषको सहुलियत प्राप्त भएपनि बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिए ।
पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउनु भयो,’ चौधरीले भनिन् ।
कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् । घर बनाउने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन् ।
उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।
गरिब तथा बिपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका डा.शर्माले सडकमा भेटिने वेवारिसे विरामीहरुलाई पनि उपचार गराउने गरेका छन् । उनले कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार सिफारिस गरेको छ ।