बेलबारी प्रज्ञा प्रतिष्ठानबारे श्रष्टा, लेखक र साहित्यकारको बिरोध, नगरपालिकाद्वारा बचाउ

  • १५ आश्विन २०७९, शनिबार

बेलबारी नगरपालिकाले आफैंले बनाएको ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरेपछि बेलबारीका पुराना श्रष्टा तथा लेखक र साहित्यकारहरु बिरोधमा उत्रिएका छन् ।

प्राज्ञिक संस्थामा योग्य, सक्षम तथा योगदान गरेका श्रस्टाहरुलाइ समेट्नुको सट्टा दलीय भागबन्डालाई आधार बनाएइको भन्दै चर्को विरोध हुन थालेको हो ।

प्रज्ञाप्रतिष्ठानको गठन दलीय भागबन्डाको आधारमा होइन, योज्ञता, क्षमता तथा योगदानका आधारमा हुनुपर्छ भन्दै बिहीबार मात्र भाषा–साहित्यका खोजकर्तासमेत रहेका स्थानीय स्रष्टा केशु विरहीले नगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

नगरकै गरीमा बोकेको संस्था लामो समयदेखि भाषा साहित्यकै लागि लागिरहेका मानिसलाई जानकारी नै नदिई गठन भएकोमा असन्तुष्टि व्यक्त गर्दै बिरहीले प्रतिप्रश्न गरेका छन्   जानकारी पाउनु पर्छ कि पर्दैन । प्रज्ञा प्रतिष्ठान पार्टीका सदस्यता लिनेको लागि मात्र हो र ? नगरपालिकाले यो कुरा बुझ्नु पर्दैन ?

बिरही मात्रै होइन, भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रका व्यक्तिहरुसँग छलफल तथा भेला नै नगरी पार्टीका केही व्यक्तिहरूको सहमतिका आधारमा दलीय भागबन्डाका आधारमा प्रतिष्ठानको तदर्थ समितिको गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका थुप्रै व्यक्तिहरूले पनि असन्तुष्टि जाहेर गरेका हुन् ।

बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीले ढिलै भए पनि  स्थानीय सरकारले प्रज्ञा प्रतिष्ठान स्थापना  हुनु सकारात्मक भएको तर स्रस्टाहरुको भावनालाई बेवास्ता गर्दै राजनीतिक भागबन्डाका आधारमा प्रज्ञा प्रतिष्ठान गठन हुनु दुखद भएको बताएकी छिन् ।

सामाजिक संजाल मार्फत लेखालीले भनेकी छिन् ‘प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय संस्थाको गठनमा प्राज्ञ शब्दको परिभाषा बिपरित राजनीतिक भागबन्डा हुनु सुखद होइन ।’ प्रतिस्ठान भागबन्डामा नभई  बिज्ञताको आधारमा गठन गर्नु पर्छ भन्ने आफुहरुको माग रहेकोे भन्दै लेकालीले बताएकी भनेकी छिन् “दलीय राजनीतिभन्दा बाहिरको प्राज्ञिक व्यक्तिहरु प्रतिष्ठानका  पदाधिकारी तथा  सदस्य हुनुपर्नेमा समेत बेलबारी साहित्य समिति जोडदार माग गर्दछ। दलीय भागबन्डामा  प्रतिष्ठान गठन हुनु खेदजनक छ। *

बेलबारी साहित्य बिकास समितिको तर्फबाट अध्यक्ष लेकालीले सामाजिक संजालमा लेखेकी छिन् “भाषा साहित्य सस्कृति जस्तो गरिमामय विषयको सम्बर्द्धन र संरक्षण गर्ने प्रतिष्ठानलाई राजनीति भर्ति केन्द्र बनाउन खोज्नु दुखद हो । बेलबारीको प्रज्ञा प्रतिष्ठान गठन बिधि  प्राज्ञिक क्षेत्रको अपमान गर्दै  गलत मनसायबाट आएको देखिएको छ। प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय सस्थामा राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाउन खोज्नु अति नै दुखद हो। साच्चै भाषा,साहित्य,कला,सस्कृतिको प्रबर्द्धन गर्नकै लागि प्रतिष्ठान गठन गरेको हो भने यो  निर्माण बिधिमा पुनर्बिचार हुनुपर्छ। बिधि र प्रक्रियामा पुनर्बिचार नभएमा  हामीलाई मान्य हुने छैन।”

साहित्य विकास समितिकै उपाध्यक्ष स्थानीय स्रष्टा रमेश निरौलाले पनि भाषा, साहित्य, कला संस्कृतिका क्षेत्रमा काम गर्दै आएका मानिससँग परामर्श नै नगरी तदर्थ समिति गठन भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘कसका लागि यो प्रतिष्ठान गठन गरिएको हो ? दलीय प्रज्ञाप्रतिष्ठान हो भने ठिकै छ । नत्र नगरको भाषा, कला, र साहित्यको विकासमा लागि गठन भएको हो भने सम्बन्धित क्षेत्रका मानिसलाई थाहा दिनु पर्दैन ?’ निरौलाले प्रश्न गरेका छन् ।

बेलबारीकै वरिष्ठ कलाकार तथा साहित्यकार भिम लामाले पनि नगरपालिकाले दलीय भागबन्डाका नाममा त्यस्तो भुल गर्छ भनेर नसोचेको र यसले आफुलाइ नै लाज लागेको बताए ।

बेलबारीकै अर्का स्रष्टा सुन्दर भट्टले दलीय भागबन्डामा प्राज्ञिक संस्थाको गठन हुनुलाई भाषा, साहित्य र कलाको भद्दा मजाक भएको प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी सुन्दररहैँचा कला साहित्य समितिकाका अध्यक्षसमेत रहेका स्रष्टा छवि वैरागी घिमिरेले प्राज्ञिक थलोमा दलीय भागबन्डा स्वीकार्य नहुने विचार व्यक्त गर्दै प्राज्ञिक थलोमा सम्बन्धित विषयमा विज्ञता भएका मानिसलाई मात्र ल्याइनु पर्ने बताएका छन् ।

यस्ता संस्थामा दलीय भागबन्डाबाट मानिस ल्याउने विधि नै गलत भएको भन्दै घिमिरेले विशेष महत्व राख्ने प्रज्ञा प्रतिष्ठान जस्तो गरिमामय समितिको गठन हचुवाको भरमा हुनुलाई खेदजनक कार्य भएको प्रतिक्रिया दिएका छन् ।

बेलबारीका स्रष्टा एवम् मूर्तिकार श्याम गौतमले पनि यही क्षेत्रमा विगत लामो समयदेखि संलग्न भएका व्यक्तिलाई जानकारी नै नदिई दलीय भागबन्डाका भरमा प्रज्ञाप्रतिष्ठान गठन भएकोमा दुःख व्यक्त गदै यो निर्णय सच्याउन आग्रह गरेका छन् । आफूले पनि बेलबारी प्रज्ञाप्रतिष्ठान गठन भएको सामाजिक सञ्जालबाट मात्र थाहा पाएको गौतमले बताएका छन् ।

बेलबारी नगरपालिकाले असोज ११ गते बेलबारी प्रज्ञाप्रतिष्ठानको ११ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । तदर्थ समितिमा रहेकामध्ये केहीको साहित्यिक तथा कला क्षेत्रको योगदानको विषयलाई लिएर माथि प्रश्नसमेत उठेको छ ।

बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (फ) ५ र सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौँ नगर सभाले सो ऐन पारित गरेको थियो ।

प्रतिष्ठानको समितिमा रेखा सुवेदी संयोजक छिन् । सदस्यहरुमा  धनजित पराजुली,, गणेश तामाङ, शेखर थापा,   मगर, । हिमांशु राय, कुलप्रसाद बराल, प्रेम गुरुङ, मनकुमार  गुरुङ र महेन्द्र गिरी छन् । प्रतिष्ठानको गठन प्रक्रिया र त्यसमा परेका ब्यक्तिहरुको भुमिका बारेमा सर्वसाधारणले समेत प्रश्न उठाएका छन् । तर विवादकाबीच  प्रतिष्ठानको समिति खारेज गर्नुको सट्टाउल्टै बैठक बस्ने तयारी भइरहेको सूचना प्राप्त भएको छ ।
नगरपालिका भने बचाउमा
बेलबारी नगरपालिकाका नगरप्रनुख दिलप्रसाद राइले नगरपालिकाले कुनै दुराशय राखेर प्रज्ञा प्रतिष्ठान गठन नगरेको तर अहिलेको प्रणाली नै राजनीतिक हिसाबले चलेको र सबैजसो ब्यक्तिहरु कुनै न कुनै दलमा आबद्ध हुने भएकोले दलहरूसँगको छलफलको आधारमा सबै दलहरूबाट प्रतिनिधित्व हुनेगरी प्रतिस्ष्ठान गरिएको बताए । दलहरूलाइ प्रतिनिधि पठाउन भनिएको र सम्बन्धित क्षेत्रका र सक्षम ब्यक्ति पठाउने जिम्मा पनि दलहरूकै भएको बताए । सम्बन्धित ब्यक्तिहरु पनि समितिमा परेको बिवादबारे संकेत गर्दै राइले कतिपय ब्यक्ति बाहिर नदेखिएको भए पनि त्यस्ता ब्यक्ति कुनै न कुनै बिधामा सक्रिय भएको हुनसक्ने बताए । “त्यस्ता ब्यक्तिहरुको परिक्षण हुने बेला आएको छ ।
नगरपालिकाले ऐनका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानलाई संस्थागत गर्नको लागि शुरुआत गरेको तर हालसम्म श्रष्टाहरु कसैको पनि आधिकारिक विवरण नभएकोले पनि नगरपालिकाले राजनैतिक हिसाबले प्रतिनिधित्व गराइ समिति बनाएको बताए । कार्यबिधि बनि नसकेकोले कार्यबिधि बनेपछि सदस्यता दिलाएर सबैलाई समेटिने मेयर राइले बताए ।