मोरङ बेलबारीमा हुनेभो प्रथम टी-20 प्रिमियर लिग, स्पोन्सरहरुको खोजी हुँदै

  • १८ आश्विन २०७९, मंगलवार

मोरङको बेलबारीमा मंसिर १० देखि १७ गतेसम्म बेलबारी नगर स्तरीय प्रथम टि -२० प्रिमियर लिग (क्रिकेट) २०७९ आयोजना हुने भएको छ ।

‘बेलबारी नगरको पहिचान, क्रिकेट बिकासमा हाम्रो ध्यान’ भन्ने नाराका साथ बेलबारी ४ स्थित वेतना युनाइटेड क्लबको मैदानमा प्रथम बेलबारी प्रिमियर लिग आयोजना  हुने भएको हो ।

बेलबारी क्रिकेट क्लबले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतियोगितामा बेलबारीका  ६ वटा कर्पोरेट पार्टनर टीमको सहभागिता हुनेछ । नगरका विभिन्न वडामा रहेका क्रिकेट खेलाडीहरुको छनौट गरी प्रशिक्षण गराइने र कर्पोरेट टिममा समावेश गरी प्रतियोगिता आयोजना गरिने बेलबारी क्रिकेट क्लबका अध्यक्ष विपिन आचार्यले जानकारी दिए । प्रतियोगितामा जम्मा १५ वटा खेल हुनेछन् ।

बेलबारीका जुनसुकै संघसंस्था, कम्पनी, उद्योग वा ब्यबशाय कर्पोरेट टीम हुन पाउनेछन् । टीमको खर्च ब्यबस्थापन कर्पोरेट पार्टनरले नै गर्नुपर्ने भएकोले सहभागी हुने खेलाडीहरुले कर्पोरेट टीमकै नामबाट सहभागिता जनाउने छन् । कर्पोरेट पार्टनर (टीम स्पोन्सर) तथा खेलाडीहरुले कार्तिक १५ गतेसम्म सम्पर्क गर्नसक्ने क्लबका अध्यक्ष विपिन आचार्यले बताए ।

प्रतियोगितामा प्रथम हुने टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टीमले ३१ हजार  १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ हजार ५ सय ५५ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट क्रिकेट किपरले जनही ३ हजार ३ सय ३३ रुपैयाँ र प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार १ सय ११ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि जर्सी, ब्याट, बल, स्टम्स, ग्लब्स र खाजा खर्च लगायतमा ८० हजार खर्च हुने अनुमान गरिएको छ ।प्रतियोगिताका लागि करिब साढे सात लाख खर्च हुने अनुमान गरिएको र इस्टिमेटभन्दा बढी सहयोग प्राप्त भएमा सो रकम क्रिकेट मैदानको ब्यबस्थापनका लागि खर्च गरिने बेलबारी क्रिकेट क्लबले जनाएको छ ।

क्रिकेट खेलमा ब्यबशायिकता बढाउने, खेलाडी उत्पादन गर्दै दक्ष खेलाडी बनाउने र बेलबारीलाइ क्रिकेट मार्फत  राष्ट्रिय स्तरमा चिनाउने मुल उद्देश्यले लिग आयोजना गरिएको बेलबारी क्रिकेट क्लबका सचिब सियोम सुवेदीले बताए ।

पत्रकार सम्मेलनमा बेलबारी नगर खेलकुद बिकास समिति अध्यक्ष बिक्रम बान्तवा राईले यस्ता प्रतियोगिता आयोजना हुनु सकरात्मक भएको भन्दै प्रतियोगिता सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

बि. सं. २०७१ सालमा स्थापित क्लबको आयोजनामा २०७३ सालमा पुर्वान्चल स्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । क्लबले विभिन्न क्रिकेट प्रतियोगिताहरुमा पनि सहभागिता जनाइसकेको छ । तर आफ्नो खेलमैदान नहुँदा बेलबारीका खेलाडीहरु क्रिकेटको अभ्यास गर्नबाट बन्चित हुँदै आएका छन् ।