अमनलाल मोदी भन्छन् -‘थारु समुदायले चुनावमा डा. सुनिल शर्मालाई सघाउँछन्’

  • १८ आश्विन २०७९, मंगलवार

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङ क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउने बताएका छन् ।

विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् ।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा.शर्माको गुन फर्काउँने बताए ।
.
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा.शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे । ‘डा.सुनिल शर्माले थारुहरुलाई धेरै गुन लगाउनु भयो, अब आउने चुनावमा थारुहरुले तपाईको गुन फर्काउँने छन्,’ संवोधनका क्रममा डा.शर्मालाई लक्षित गर्दै सांसद मोदीले भने, ‘आउने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा.शर्माले ठूलो सहयोग गरेको उनले बताए । डा.शर्माको सहयोगका कारण थारु समुदायको कला सस्कृति र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै सांसद मोदीले सहयोगका लागि डा. शर्मालाई धन्यवादसमेत व्यक्त गरे ।

थारु समुदायको कला सस्कृति प्रवद्र्धन र युवायुवतीको प्रतिभा उजागर गर्न आयोतिज तेस्रो थारु आइकनसहित  तीन वटै सिजनलाई  नोबेल अस्पतालले नै प्रायोजन गरेको थियो ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।