मोरङमा एमालेका आधा दर्जनभन्दा बढी प्रदेश स्तरीय नेताहरूले त्यागे पार्टी

  • २३ आश्विन २०७९, आईतवार

प्रतिनिधिसभा तथा प्रदेश सभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङमा एमालेका आधा दर्जनभन्दा बढी प्रदेश कमिटीका सदस्यहरुले एमाले परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा ओली पक्षीय नेतादेखि १० बुँदे पक्षधर पनि छन् । एमाले छाडेको घोषणा गर्नेहरूमा प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित प्रदेश कमिटी सदस्यहरू  प्रताप कुमार थापा, राजकुमार बस्नेत, मधु गुरूङ, जिल्ला सचिवालय सदस्य गीता सिवा छन्।
अनेरास्ववियुका पुर्व उपाध्यक्ष तथा तत्कालीन मुख्यमन्त्री शेरधन राइका जनसम्पर्क सल्लाहकार भइसहेका पथरीका रामकुमार बस्नेत मोरङको प्रदेश ३ ‘१’ का दाबेदार थिए भने तत्कालीन डाँगीहाट गाविसका पुर्व अध्यक्ष राजकुमार बस्नेत प्रदेश ३ ‘२’ का दाबेदार थिए।
क्षेत्र नम्बर ३ ‘१’ मा दीलिपकुमार राई र ३ ‘२’ मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन् । दुवैजना १० बुंदे सम्ज्झौता भएसंगै  एमालेतिर लागेका थिए । राइ पथरी शनिश्चरे नगरपालिका र सुवेदी बेलबारी नगरपालिकाका पुर्व मेयर हुन् ।                अपमानित भएर पार्टीमा बस्नुभन्दा विद्रोह गर्नु उपयुक्त देखेकोले पार्टी छाडेको बताउँदै उनीहरूले अन्य कार्यकतालाई पनि विद्रोहमा सामेल हुन अपिल गरेका छन्।
यस्तै, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारी र अर्का नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन्। गत बर्ष माओवादी छाडेर एमालेमा लागेका एमालेका कमिटी सदस्य उर्लाबारीका राजेन्द्र पौडेलले पनि एमाले परित्याग गरेका छन् ।
एमालेबाट क्षेत्र नं ५ मा एकल उम्मेदवार सिफारिस भए पनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसअघि एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् ।