मोरङमा १८ पदको लागि २ सयभन्दा बढीले दिए उम्मेदवारी, को को बने उम्मेदवार ?

  • २४ आश्विन २०७९, सोमबार

मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा १८ पदको लागि मोरङमा २ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संघमा ९८ र प्रदेशतर्फ १ सय ९ जना उम्मेदवारले आइतबार ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् ।

मोरङ क्षेत्र नं. १ को प्रतिनिधि सभामा ८ जनाको उम्मेदवारी परेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद थापाले जानकारी दिए ।

क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेबाट निर्वतमान सांसद घनश्याम खतिवडाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट कांग्रेसका डिकबहादुर लिम्बु रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ, स्वतन्त्रबाट तिलक बहादुर मगर, राप्रपाबाट होमनाथ गौतम, स्वतन्त्रबाट मनिषा सुवेदीलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘क’ मा ४ जना र ‘ख’ मा पाँच जनाको उम्मेदवारी परेको छ ।प्रदेशसभातर्फ १ को ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद साम्बा र एमालेबाट उमाकान्त गौतमले उम्मेदवारी दिएका छन् । माओवादीबाट उम्मेदवारी दिएका साम्बा निर्वतमान प्रदेश सांसद हुन् । यस्तै स्वतन्त्रबाट फुल कुमारी पण्डित राई, राप्रपाबाट पूर्णबहादुर तामाङ्गले प्रदेशमा उम्मेद्वारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट एकीकृत समाजवादी पार्टीबाट उपेन्द्र घिमिरे र एमालेबाट खड्गबहादुर बस्नेतले उम्मेदवारी दिएका छन् । घिमिरे प्रदेश १ का यातायात तथा संचारमन्त्री हुन् । यस्तै स्वतन्त्रबाट दिपक राई, डिल्ली राम शर्मा अधिकारीलगायतले उम्मेदवारी दिएका छन् ।
मोरङको क्षेत्र नं. २ मा ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत नरेन्द्र केशरी पोखरेलले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्यमा १२, प्रदेश ‘क’ मा ११ र ‘ख’ मा ७ जनाको उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेसकी सुजाता कोइरालाले उम्मेद्वारी दिएकी छन् । एमालेबाट ऋषिकेश पोखरेलले उम्मेद्वारी दर्ता गराएका हुन् । यसैगरी नेपाल किसान पार्टीबाट सुरेश कुर्वा, हाम्रो नेपाली पार्टीबाट विनोदमणि भट्टराई, राप्रपाबाट गोपाल दाहाल, लोसपाबाट नारायणप्रसाद गनगाइँ, स्वतन्त्रबाट विशेश्वर ऋषिदेवलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रदेश ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती (सुशिल) ले उम्मेदवारी दिएका छन् । एमालेबाट दानबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् । यस्तै स्वतन्त्रबाट शमसेरबहादुर कार्की, फडिन्द्र थापा, राजेन्द्र शर्मालगायतले पनि प्रदेश ‘क’ मा उम्मेद्वारी दिएका छन् ।
सोही निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट काँग्रेसका विनोद कार्की र एमालेबाट लिलाबल्भव अधिकारीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट विष्णुबहादुर थापा, मोहम्द कमुल मियालगायतले पनि प्रदेशतर्फ उम्मेदवारी दिएका छन् ।

मोरङ क्षेत्र नं. ३ मा संघ र प्रदेशमा गरी ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यमा २९, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा १४ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत रामहरि शर्माले जानकारी दिए ।

संघमा गठबन्धनबाट काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रेखा थापाले पनि उम्मेदवारी दिएकी छिन् । प्रदेश ‘क’ मा गठबन्धनबाट काँग्रेसका शेखरचन्द्र थापाले उम्मेदवारी दिएका छन् । एमालेबाट दिलिपकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । थापा प्रदेश १ मा वन तथा वातावरण मन्त्री हुन भने राई पथरी शनिश्चिरे नगरपालिकाको निर्वतमान नगर प्रमुख हुन् । यस्तै राप्रपाबाट तिर्थबहादुर गुरूङ, स्वतन्त्रबाट धनबहादुर कार्कीलगायतले प्रदेशमा उम्मेद्वारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेबाट ज्ञानेन्द्र सुवेदी र गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका लक्ष्मीकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । सुवेदी बेलबारी नगरपालिकाका निर्वतमान नगरप्रमुख हुन भने श्रेष्ठ सुकुना स्कुलका पुर्व प्रधानाध्यापक हुन् । यस्तै राप्रपाबाट रमेश रिजाल, स्वतन्त्रबाट यामकुमार श्रेष्ठलगायतले प्रदेशमा उम्मेद्वारी दिएका छन् ।

मोरङ क्षेत्र नं. ४ मा संघ र प्रदेश गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत मणिराज पोखरेलले दिएको जानकारी अनुसार संघमा १७, प्रदेश ‘क’ मा ८ र ‘ख’ मा ११ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट विनोद ढकालले उम्मेदवारी दिएका छन् । मोदी निर्वतमान सांसद हुन् भने ढकाल एमालेका केन्द्रीय सदस्य हुन् । २०७४ सालको निर्वाचनमा मोदीले नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गरी यस क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक काँग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटी, स्वतन्त्रबाट महेश नेपाल, गोकुलप्रसाद पोखरेल, लोसपाबाट लक्ष्मण साह, राप्रपाबाट रवि रिजाल, नेमकिपाबाट श्यामबहादुर दर्जी, नेपाली काँग्रेस बिपीबाट अशोक पौडेलले संघमा उम्मेदवारी दिएका छन् ।

प्रदेश ‘क’ मा गठबन्धनबाट काँग्रेसका गुरूराज घिमिरे र एमालेबाट जयप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाबाट आशनारायण थारु, लोसपाबाट हेमन्तीकुमारी सरदार, स्वतन्त्रबाट प्रद्युम्न चौधरी, नेपाली काँग्रेस बीपीबाट श्याम कुमार चौधरीले प्रदेमा उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट काँग्रेसका भिम पराजुलीले उम्मेदवारी दिएका छन् । मोरङ क्षेत्र नं. ४ ‘ख’ गठबन्धनमा काँग्रेसको भागमा परेको थियो । तर, यस निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका नेता महेश रेग्मीले पनि प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट जीवन घिमिरेले उम्मेदवारी दिएका छन् ।

४ ‘ख’ मा जसपाबाट सन्जय कुमार सिंह राजपुतले पनि उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाबाट माधव प्रसाद आचार्य, स्वतन्त्रबाट पशुपतिकुमार माझी, भिमबहादुर राजवंशीलगतयाले प्रदेशमा उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा उम्मेदवारी दिएका काँग्रेसका पराजुली विराटनगर महानगरपालिका निर्वतमान नगर प्रमुख हुन् । यस्तै एमालेका उम्मेदवार घिमिरे पूर्व सामाजिक विकास मन्त्री हुने भने रेग्मी एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य हुन् ।

मोरङ क्षेत्र नं. ५ मा ३२ जनाको उम्मेदवारी परेको छ । संघमा १६, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

संघमा गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाबाट राजकुमार यादवले उम्मेद्वारी दिएका छन् । एमालेका योगेन्द्र मण्डलले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश ‘क’ मा गठबन्धनबाट काँग्रेसका गयानन्द मण्डल र एमालेका सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपाबाट सोनल कुमार गुप्ता, स्वतन्त्रबाट रुपेशकुमार मण्डल, कलानन्द साह लगायतले प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेश ‘ख’ मा गठबन्धनबाट काँग्रेसका अमृत अर्याल र जसपाबाट जयराम यादवले उम्मेद्वारी दिएका छन् । अर्याल काँग्रेसका केन्द्रीय सदस्य हुन् भने यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् । यस्तै एमालेबाट निवर्तमान प्रदेश सांसद बसन्तिदेवी यादवले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले जसपासँग गठबन्धन गरेकाले टिकट नपाउने भएपछि उनले प्रदेशमा उम्मेदवारी दिएकी हुन् । स्वतन्त्रबाट भुराज राईले पनि प्रदेशमा उम्मेदवारी दिएका छन् ।