बेलबारीमा असोज २८ देखि टोलस्तरीय धिमाल फुटबल प्रतियोगिता हुँदै

  • २४ आश्विन २०७९, सोमबार

धिमाल युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै फुटबलको बिकास गर्ने उद्देश्यका साथ मोरङको बेलबारीमा धिमाल गाउँटोल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

धिमाल जातीय विकास केन्द्र नगर समितिको आयोजनामा बेलबारी ३ स्थित प्रस्तावित बेलबारी रङ्गशाला (टुक्रे खेल मैदान) मा असोज २८ देखि कार्तिक ५ गते सम्म प्रतियोगिता हुने भएको हो ।

बेलवारी नगरपालिकाभित्र १६ वटा टोलका युवाहरुबाट छनौट गरी बेलबारी नगर स्तरीय टिम तयार गर्ने र धिमाल जातिका युवाहरुलाई सक्षम खेलाडी बनाइ राष्ट्रिय स्तरसम्म पुन्याउने लक्ष्य रहेको आयोजक धिमाल जातीय बिकास केन्द्रले जनाएको छ ।

प्रतियोगिताका बिजेताले शिल्ड, ट्रफी र मेडलसहित २५ हजार नगद पाउने छन । दोस्रो हुनेले २० हजार नगदसहित शिल्ड, ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट स्ट्राइकरले एक हजार ५ सय रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट प्लेयरले दुई हजार र प्रतियोगिताको म्यान अफ द म्याचले ६ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कुल २ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ ।

धिमाल जातीय विकास केन्द्र नगर समिति बेलबारीका सचिव तिलककुमार धिमालले खेलकुदको विकास गर्दै युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । प्रतियोगिताबारे जानकारी दिन  ड्रिमल्यान्ड फनमा आईतबार गरिएको पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सचिव रुक्मिणि धिमाल, केन्द्रीय सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख अजितकुमार धिमाल लगायले प्रतियोगितावारे जानकारी दिएका थिए ।