शुरुभो बेलबारी गोल्डकप, उद्घाटन खेलमा बिराटनगरलाइ पराजित गर्दै धुलाबारी बिजयी

  • १५ कार्तिक २०७९, मंगलवार

मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मंगलबारदेखि शुरु भएको पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै रोलिङ क्लब धुलाबारीले विजयी सुरुवात गरेको छ ।

रेजिन सुब्बाको निर्णायक गोलको मद्दतले धुलाबारीले बिजयी शुरूवात गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि मध्यान्तरपछि खेलको ५१ औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई सुब्बाले वान टच जाली चुमाएका थिए ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिम पटकपटक गोल गर्न चुके । खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रिकिक प्रहारलाई झापाका गोलरक्षक दीप कार्कीले विफल पारिदिए । २२ औँ मिनेटमा उनकै प्रहारले पोस्ट माथिबाट बाहिरियो । ४६ औँ मिनेटमा सुदील राई वान भर्सेस वानको अवस्थामा चुके । ७१ औँ मिनेटमा सुदीलकै प्रहार बाहिरिँदा विराटनगरको क्वाटर फाइनल प्रवेश गर्ने योजना असफल बन्यो ।
खेलको ७ औँ मिनेटमा झापाका सुजल श्रेष्ठको प्रहारलाइ विराटनगरका गोलरक्षक विवश चौधरीले असफल पारिदिए । खेलको २७ औँ मिनेटमा झापाका एन्जल गुरुङले गोल प्रहार गरे पनि गोलले पोस्ट चुम्न सकेन । खेलको ३८ औँ मिनेटमा संजोग राईले अवसर गुमाउँदा झापाले जितका लागि मध्यान्तरपछिसम्म संघर्ष गर्नुपर्यो । विराटनगरले जवाफी गोल फर्काउन प्रयास गरेपनि अवसरको सदुपयोग गर्न नसक्दा विराटनगर खेलबाट बाहिरियो ।

उद्घाटन खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की भए । उनले नगद ५ हजार रूपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजक बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए ।

बुधबारको खेल भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच हुनेछ ।
असोज १५ देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।
प्रतियोगितामा विराटनगर र झापासहित साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब तथा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग सहभागी छन् ।

बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगिताका विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष बिक्रम राइले बताए ।
प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले जितेको थियो ।