बेलबारी गोल्डकपको क्वाटर फाइनलमा पुग्यो सिराहा, बाहिरियो वेष्ट बंगाल

  • १६ कार्तिक २०७९, बुधबार

पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरले पराजित हुँदै भारतको एमएम एफ सी वेष्ट बंगाल प्रतियोगिताबाट बहिरिएको छ ।

मोरङ बेलबारी ११ स्थित लक्ष्मीमार्गमा बुधबार अर्थात गोल्डकपको दोस्रो खेलमा सिरहाको सहलेस युथ क्लबसँग ३–१ गोल अन्तरको पराजय बेहोर्दै भारत  प्रतियोगिताबाटै विदा भएको हो ।

खेलको ३० औँ मिनेटमा भारतले आत्मघाती गोलको उपहार पाएको थियो । आत्मघाती गोलका कारण पाएको सुरुवाती अग्रता हापपछि जोगाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो ।
विदेशी पाहुना टोली भारतलाई निराश बनाउँदै सिरहा भने प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

भारतका सत्यम शर्माले गरेको प्रहारलाई क्लियर गर्न नसक्दा सिरहा दबाबमा पर्यो । सत्यमको प्रहारलाई क्लियर गर्ने क्रममा सिरहाका खेलाडी असफल भए । बलले सिरहाको पोस्ट चुम्दा भारत १–० गोल अन्तरले अघि बढ्यो ।

४०–४० मिनेटवाला खेलको पहिलो हाफ १–० गोल अन्तरमा सकियो । तर सिरहाले हापपछि ३ वटा गोल बर्षायो  । विदेश खेलाडी फोडे फोफोनाले ४१ औँ मिनेटमा गरेको गोलमार्फत सिरहा १-१ को अबस्थामा फर्किएको थियो  । त्यसपछि ४७ औँ मिनेटमा सिरहाका दिनेश हेन्जनले खेललाई २–१ को अवस्थामा पुर्याए । फ्रि किकबाट रिबाउण्ड भएको बललाई उनले पोष्ट चुमाउँदा सिरहाले अग्रता लिएको थियो ।

सिरहाका फोडे फोफोनाले ७८ औँ मिनेटमा अर्को गोल थप्दै टिमको जित निश्चित गराए । वेष्ट बंगालका समीर प्रधानले फउल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै उनले सिरहालाई ३–१ को अबस्थामा पुर्याएका थिए  । एक्लै २ गोल गरेका फोडे खेलको म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको तेस्रो खेल बिहीबार झापाको रोलिङ क्लब धुलाबारी र आयोजक डाँगीहाट युथ क्लबबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

असोज १५ देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।

प्रतियोगितामा विराटनगर र झापासहित साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब तथा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग सहभागी छन् । तर  मंगलबारको उद्घाटन खेलबाट बिराटनगर र दोस्रो दिन बुधबारको खेलबाट एमएम एफ सी वेष्ट बंगाल बहिरिइ सकेका छन् ।

बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगिताका विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् ।

यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए । प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले जितेको थियो ।