बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुग्यो आयोजक डाँगीहाट

राजु बस्नेत

  • १७ कार्तिक २०७९, बिहीबार

 पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लब बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

बिहीबारको खेलमा पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीलाइ टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको छिनोफानो टाइब्रेकरमार्फत हुँदा आयोजक डाँगीहाटले नतिजा आफ्नो पक्षमा पार्यो ।

टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहार खेर गयो । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो भने लोकेन्द्र लिम्बूको प्रहार डाँगीहाटका गोलरक्षक किशोर गिरीले रोकिदिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेनन् ।

झापाका रजिन सुब्बाको १४ औँ मिनेटको प्रहार र ४२ औँ मिनेटमा आशिष चापागाईंले प्रहार गरेको ‘फ्रि’ गोल डाँगीहाटका गोलरक्षक किशोर गिरीले रोकिदिए ।

आयोजक डाँगीहाटका सुशील राई र अभिषेक गुरुको  प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले विफल पारिदिए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक किशोर गिरी भए । उनले ५ हजार नगद पुरस्कार पाए ।  शुक्रबारको दोस्रो सेमिफाइनल खेल सहलेस युथ क्लब सिरहा र  एभिनीयर फुटबल क्लब क्यामरुन बीच हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा पेम्बा युवा क्लब विराटनगर, रोलिङ एफ सी धुलाबारी, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब तथा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गसहित १० टीम सहभागी छन् । जसमध्ये पेम्बा युवा क्लब र भारतको एमएम एफ सी वेष्ट बंगाल प्रि- क्वाटरफाइनलबाट नै बाहिरिएका छन् भने रोलिङ एफ सी धुलाबारी आयोजकबाट पराजित हुँदै पहिलो क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगिताका विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए ।