क्यामरुनलाइ पछार्दै सिराहा पुग्यो बेलबारी गोल्डकपको सेमिफाइनलमा

  • १८ कार्तिक २०७९, शुक्रबार

क्यामरुनको एभिनीयर फुटबल क्लब पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
उत्कृष्ट प्रदर्शनका बाबजुद शुक्रबार सिरहाको सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै क्यामरुन गोल्डकपबाटै बाहिरिएको हो ।

प्रतिस्पर्धात्मक खेलको ७ औँ मिनेटमा डी–बक्सभित्र प्राप्त बललाई सिराहाका बिदेशी खेलाडी फोडेले पोस्टमा गोल छिराउँदा क्यामरुन सुरुवाती दबाब झेल्न बाध्य भएको थियो । पहिलो हाफको निर्धारित समयसम्म सो अग्रता टिकेपनि अतिरिक्त समयमा गोल गर्दै क्यामरुन खेलमा फर्कियो । सिरहाका दुई जना खेलाडीलाई बिट गर्दै क्यामरुनका सोङ्गले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जितमा दुवै गोल फोडे फोफोनाले गरे । मध्यान्तरपछि खेलको ६७ औँ मिनेटमा डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सिराहाका फोडेले दोस्रो गोल गर्दै टोलीलाई जिततर्फ डोहोर्याएका थिए ।
सिरहाको तुलनामा गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न नसकेको क्यामरुन भने अभागी साबित भयो । खेलको म्यान अफ दी म्याच सिरहाका पेपे भए । उनले नगद ५ हजार पुरस्कार पाए । भोलि शनिबार विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं र सहरा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पेम्बा युवा क्लब विराटनगर, रोलिङ एफ सी धुलाबारी, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब तथा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गसहित १० टीम सहभागी भएकोमा पेम्बा युवा क्लब र भारतको एमएम एफ सी वेष्ट बंगाल प्रि- क्वाटरफाइनलबाट नै बाहिरिएका छन् । त्यस्तै रोलिङ एफ सी धुलाबारी र क्यामरुन पहिलो र दोस्रो क्वाटरफाइनल खेलमा पराजित हुँदै बाहिरिएका छन् ।

बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगिताका विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए । – राजु बस्नेत