सहारा क्लबलाइ उछिन्दै एपीएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

  • १९ कार्तिक २०७९, शनिबार

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मोरङ बेलबारीस्थित लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ गोल्डकपको सेमिफाइनलमा पुगेको हो । आफ्नो पहिलो खेलमै एपीएफसँगको हारसँह्ल टाइब्रेकरमा सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दिपेश धिमाल र राजु नगरकोटीको प्रहारले जाली चुम्दा एपीएफ अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।

पोखराका तर्फबाट दिपेश आलेमगर, सरोज योन्जन, जय गुरुङ र अजित भण्डारीको प्रहारले मात्रै पोस्ट देख्यो। आशिष गुरुङको प्रहार विपक्षी गोलरक्षक राजु नगरकोटीको हातमा पुग्दा पोखरा दुर्भाग्यशाली बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा पोखरा निराश बनेर फर्किनु परेको छ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो। खेलको २३ औँ मिनेटमा नवीन लामाले गोल गरेर एपीएफलाई अग्रता दिलाएका थिए। करिब २५ यार्ड टाढाबाट उनले हानेको फ्रिकिकले पोष्टतिर जाँदा पोखराका गोलरक्षक टेकेन्द्र थापाले छेक्ने मौका पाएनन्।

तर एपीएफको अग्रतालाई तोड्दै खेलको ४० औँ मिनेटमा पोखराका दिपेश आलेमगरले टिमलाई खेलमा फर्काए । आशिष गुरुङले  दिएको हेड पासलाई सदुपयोग गर्दै दिपेशले हेडमार्फत नै आकर्षक गोल गरे ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो। मध्यान्तरपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो ।

आकर्षक प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखे पनि पोखराले नतिजा आफ्नो पक्षमा पार्न सकेन । २७ औँ मिनेटमा सन्तराम गुरुङ वान भर्सेस वानको अवस्थामा चुकेका थिए । उनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे।

खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए ।  नगरकोटीले ५ हजार नगद पुरस्कार प्राप्त गरे। आइतबारको प्रतिस्पर्धा भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ र धनकुटाको राजारानी फुटबल क्लबबीच हुने गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले बताए ।                                       बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगितामा १० वटा टीम सहभागी थिए । गोल्डकपको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए ।