आयोजकलाइ पराजित गर्दै एपीएफ बेलबारी गोल्डकपको फाइनलमा 

  • २१ कार्तिक २०७९, सोमबार

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको  सोमबार भएको सेमिफाइनल खेलमा आयोजकलाइ पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं फाइनलमा  पुगेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सोमबार आयोजक डाँगीहाट युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा आयोजकमाथि हाबी भएको एपीएफका लागि दुवै गोल मध्यान्तरपछि मात्रै सम्भव भयो।

उपाधि रक्षाका लागि उसले राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि मध्यान्तरपछि चम्किएको एपीएफ अन्ततः आयोजकलाई निराश बनाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । एपीएफको जितमा कप्तान टोप विष्ट र नवीन लामाले गोल गरे । आयोजकका आशिम राईले सान्त्वना गोल फर्काए।

रोमाञ्चक एवं संघर्षपूर्ण खेलको ४९ औँ मिनेटमा एपीएफले गोलको खाता खोलेर अग्रता लिएको थियो। पोलमा ठोक्किएर रिबाउण्ड भएको बललाई कप्तान टोप विष्टले पोस्टको दिशा दिँदा आयोजक दबाबमा पर्‍यो। खेलको ६५ औँ मिनेटमा नवीन लामाले अर्को गोल गर्दै एपीएफलाई उपाधिनजिक पुर्याए ।

आयोजकका काशिम राईले खेलको ७२ औँ मिनेटमा सान्त्वना गोल फर्काए। करिब ३५ यार्ड टाढाबाट उनले गरेको प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एपीएफका गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन्।

तर अर्को  गोल थप्न नसकेका कारण खेलमा फर्किन नसक्दा  आयोजकको फाइनलमा पुग्ने लक्ष्य पूरा हुन पाएन।

खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाए। प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच प्रतिस्पर्धा हुने गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । फाइनल खेल एपीएफ र दोस्रो सेमिफाइनलका बिजेताबिच बुधबार हुनेछ ।