पाचौं बेलबारी गोल्डकपको उपाधिका लागि भिड्दै एपीएफ र राजारानी

  • २३ कार्तिक २०७९, बुधबार

पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा राजारानी क्लव धनकुटा र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौ भिड्ने भएका छन ।

मगंगबारको खेलमा सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी धनकुटाले फाइनलको यात्रा तय गरेपछि फाइनलमा यी दुई टिम भिड्ने टुङ्गो लागेको हो ।

मंगलबार भएको दोस्रो सेमिफाइनल निक्कै प्रतिस्पर्धात्मक भएको थियो । सो खेलमा राजारानीका लागि खेलको ७२ औं मिनेटमा सुनिल खड्काले गोल गरेका थिए । राजारानीका लागि खड्काले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । उमेश कार्कीले सेन्टरबाट निकालेको पासमा खड्काले गोल गरेका थिए । निशान लिम्बुको ठाउँमा मैदान प्रबेश गरेका राजारानीका सुनील खड्का र गोलरक्षक पुजन होनाको प्रदर्शन उत्कृष्ट रह्यो । खेलको ५३ औं मिनेटमा राजारानीले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि पाएको पेनाल्टीमा राजारानीका टेकराज बुढाथोकी चुकेका थिए । मार्टिनेको वान भर्सेस वान बललाई फल गर्न पुगेका सहलेशका गोलरक्षक सुनारले टेकराज बुढाथोकीको पेनाल्टी विफल पारिदिए ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना दोस्रो सेमिफाइनलको म्यान अफ द म्याच घोषित हुदै नगद पाँच हजार र ट्रफी प्राप्त गरे ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोलान्तरले पाखा लगाउँदै एपिएफले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतियोगिताको फाइनल कात्तिक २३ गते बुधबार (आज) हुँदैछ । प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका र्साेत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।