एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा

  • १७ मंसिर २०७९, शनिबार

कतारमा जारी विश्वकप फुटबलमा एसियाका तीन राष्ट्रहरु नकआउट चरण अर्थात अन्तिम १६ मा पुगेका छन् ।

यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेकामा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको छ । एकै संस्करणमा तीन एसियन टिमले पहिलोपटक नकआउट चरणमा स्थान बनाएका हुन् ।

कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता र जापान समूह इ को विजेता बन्दै यसअधि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

एसियाबाट सहभागी ६ देश मध्ये आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।