प्लेन दुर्घटनामा दुई पत्रकार सहित ७२ जना गुमाएकोमा प्रेस सेन्टर स्तब्ध

  • २ माघ २०७९, सोमबार

माघ १ गते आइतबारका विहान काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ हवाई जहाज दुर्घटनामा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, संगठनका पोखरा महानगरपालिका सदस्य अनिल शाही र चालक दलका ४ जनासहित ७२ जना यात्रुको निधनप्रति प्रेस सेन्टरले दु:ख व्यक्त गरेको छ ।


प्रेस सेन्टर नेपाललेले एक शोक बक्तब्री निकाल्दै  दुर्घटनामा निधन भएका पौडेल संगठनका केन्द्रीय उपाध्यक्ष, गण्डकी प्रदेश समन्वय केन्द्रका प्रमूख तथा गण्डकी प्रदेश इन्चार्ज रहेको र संगठनलाई अपुरणीय क्षती पुगेको  उल्लेख छ ।
बक्तब्यमा भनिएको छ “संगठनका नेताको निधनले प्रेस सेन्टर नेपालको सिंगो परिवार स्तव्ध बनेको छ । उहाँको निधनले प्रेस सेन्टर नेपालमात्र नभई गण्डकी प्रदेश र सिंगो नेपालको जनपक्षीय पत्रकारीताको क्षेत्र र सम्पूर्ण संचार जगतमा अपुरणीय क्षती पुगेको छ । उहाँहरुको निधनले नेपाली पत्रकारिता क्षेत्रले  अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।”


प्रेस सेन्टर केन्द्रीय कार्यलयको आकस्मिक बैठकले माघ २ गते केन्द्रीय कार्यलय सहित देशभरका सबै कार्यलयहरुमा श्रद्धान्जली कार्यक्रम गर्ने र शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गर्ने तथा ३ दिन श्रद्धान्जलीबाहेकका अन्य गतिविधि नगर्ने र १३ दिनसम्म आफ्रना कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ । 
२०४१ भदौ ७ गते जन्मेका त्रिभुवन सानैदेखि क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई राजनीति, पत्रकारिता र समाजसेवाका क्षेत्रमा पनि स्थापित थिए । शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित प्रेस सेण्टरका उपलव्ध पदाधिकारी बैठकमा सहभागी भई आइतबार पोखरा फर्कदै थिए ।


पोखराबाट प्रकाशीत हुने हटलाइन दैनिक पत्रिकाको सम्पादक, प्रकाशक, पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा अन्य विभिन्न मिडियाहरुमा आवद्ध पौडेलले पुर्व अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस विज्ञको रुपमा पनि काम गरिसकेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरिसकेका थिए ।


प्रेस सेन्टरले दुर्घटनामा ज्यान गुमाउने संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल महानगरपालिका सदस्य अनिल शाही सहित दिवंगत महानुभावहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा शोकको घडिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना प्रकट गरेको छ ।