धनकुटाको बेलहरा र भिरगाउँ स्वास्थ्य चौकीमा संचालन भए बर्थिङ सेन्टर

  • ७ फाल्गुन २०७९, आईतवार

धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा पनि प्रसूति सेवा सुरु भएको छ ।
यसअघि बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन हुँदै आएकोमा धनकुटा नगरपालिकाले भीरगाउँ स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउने गरी एक जना दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको हो । भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘नगर प्रमुख तामाङले भने, ‘वर्थिङ सेन्टर सुरु भएपछि भीरगाउँ स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले भीरगाउँबासीलाई निकै सजिलो भएको छ ।’
अहिले स्वास्थ्य चौकीबाट नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ ।
गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासी हर्षित छन् । स्वास्थ्य चौकीमा प्रसूति गराएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिइन् ।
पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् ।
स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले जानकारी दिए ।

योसँगै धनकुटा नगरपालिकामा जिल्ल अस्पताल बाहेक दुई वटा वर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिदै आएको छ ।
नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।