बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी

  • ८ फाल्गुन २०७९, सोमबार

धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ ।

“सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गरिएको हो । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि  करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । प्रदर्शनीमा दुई हजार भन्दा बढि दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ  ।

प्रदर्शनी अन्तरगत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरु उपलब्ध हुनेछन् ।

सो अवसरमा धिमाल कलाकारहरुबाट साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुनेछ्न्। प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल र डान्सर सरस्वति धिमाल लगायतले प्रस्तुति दिनेछन्  । थै प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानी लगायतका सामग्री तथा बाध्यवादन समेत प्रदर्शनी हुनेछ ।

धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा सहभागी भइ सहयोग गर्न बेलबारीका राजनीतिक दल, सामाजिक संघ/संस्था, शैक्षिक संस्था, उद्योगी, व्यवसायी, पत्रकार लगायत सबैलाई आयोजकले आग्रह गरेको छ। यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए । ।