बेलबारीमा स्थापना भो प्रहरी प्रादेशिक अस्पताल, प्रहरी महानिरिक्षकले गरे उद्घाटन
- ११ फाल्गुन २०७९, बिहीबार
मोरङको बेलबारीमा प्रदेश प्रहरी अस्पताल स्थापना भएको छ ।
मोरङको बेलबारी ३ पुरानो ईलाका प्रहरी कार्यालय परिसरमा प्रदेश १ को प्रहरी अस्पताल संचालन भएको हो । प्रदेश १ प्रहरी अस्पतालको बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरे ।
१५ बेडको सो अस्पतालका लागि ५१ जनाको दरबन्दी स्वीकृत भएको छ । अस्पतालमा ३ जना एमबीबीएस डाक्टर, २ जना एक्सरे विशेषज्ञ ,२ जना ल्याब विशेषज्ञ, २ जना फार्मेसी बिज्ञ, र २ जना इमर्जेन्सीमा सहित ११ जना जनशक्ति रहने प्रादेशिक प्रहरी अस्पतालका प्रमुख (डीएसपी) डा. सरोज सिंहले जानकारी दिए । त्यस बाहेक अस्पतालको सुरक्षाका लागि केही प्रहरी समेत रहने बताइएको छ ।
अस्पताल निर्माणका लागि रंगरोगन, मर्मत सम्भारका लागि प्रदेश सरकार र फर्निचर लगायत आबश्यक सामग्रीका लागि बेलबारी नगरपालिकाले सहयोग गरेको छ । त्यसैगरी डिजिटल एक्सरे खरिदको प्रक्रिया शुरु भैसकेको तथा ल्याबका सामग्रीहरु आउने क्रममा रहेको अस्पताल प्रमुख सिंहले बताए । अस्पतालमा कार्यरत प्रहरी र तिनका परिवारले निशुल्क जाँच, उपचार तथा औषधि समेत पाउनेछन् । पुर्व प्रहरी र सर्वसाधारणका लागि न्युनतम शुल्कमा जाँच तथा उपचार गरिने तर औसधि भने निशुल्क बितरण नहुने प्रहरी अस्पतालले जनाएको छ ।
प्रहरीको कल्याण कोषबाट १ करोडको अक्षयकोष निर्माण गरी सोही रकमको ब्याजबाट अस्पताल सञ्चालन गरिने प्रदेश १ प्रमुख प्रहरी महानिरिक्षक श्यामलाल ज्ञवालीले बताए । अस्पतालमा प्रदेश १ का प्रहरी उनीहरुका परिवार मात्र नभएर सर्बसाधारणका लागि समेत सेवा लिनसक्ने बताइएको छ ।
अस्पताल सञ्चालनका लागि नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक डा.आशा सिंहको संयोजकत्वमा समिति गठन भएको थियो । समितिको प्रतिबेदन अनुसार अस्पताल बेलबारीमा उपयुक्त देखिएपछि नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले अनुमति दिएका थिए ।
उदघाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा, सुन्दरहरैचा, उर्लाबारी, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, केराबारी, ग्रामथान लगायतका गाँउपालिकाका अध्यक्ष, बेलबारीका राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख,वहालवाला प्रहरीका अधिकृत तथा परिवारका सदस्यहरु उपस्थित थिए ।