कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च

  • ३ श्रावण २०८०, बुधबार

कोशी प्रदेश सरकारले गत आर्थिक बर्षको अबधिमा आम्दानी भन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९ सय ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

प्रदेशको आम्दानीमा पनि बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम जोडिएको छ । फिर्ताको रकम नजोड्ने हो भने प्रदेशको कूल राजश्व आम्दानी ३ अर्ब ३९ करोड ५६ लाख ७८ लाख १३८ रुपैयाँ मात्रै छ ।  प्रदेश सरकारले आन्तरिक राजश्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । जुन लक्ष्यभन्दा १ अर्ब १८ करोड २१ लाख रुपैयाँ कम छ ।

लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारको सञ्चित कोषमा दाखिला भएको जम्मा रकम २८ अर्ब ९५ लाख ४८ हजार ७८९ रुपैयाँ रहेको छ । प्रदेश सरकारले गरेको खर्चको विवरण अन्तिम सार्वजनिक भइनसके पनि ३० अर्ब ८० करोड आसपास कायम हुने लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।

आम्दानीको हिसावले प्रदेशले शतप्रतिशत भन्दा बढी खर्च गरेको छ । गत वर्षको मौज्दात ३ अर्ब ५१ करोड रुपैयाँ नभएको भए बजेट घाटामा जाने थियो । गत आर्थिक वर्षमा सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख रहेको थियो । उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ २ अर्ब १६ करोड फिर्ता गएकोले अन्तिम बजेट ३७ अर्ब ६९ करोड १८ लाख कायम भएको थियो ।

प्रदेश सरकारले चालूतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पूँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ बजेट छुट्याएको थियो । चालूतर्फ ७९ दशमलव ४३ र पूँजीगततर्फ ८४ दशमलव ४४ प्रतिशत गरी जम्मा ८२ दशमलव २८ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।