बाढीले बगाएको ६ वर्षपछि लोहन्द्रा खोलामा बन्यो नहरसहितको पुल

  • १५ श्रावण २०८०, सोमबार

बिक्रम सम्बत २०७४ सालको बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरसहित लोहन्द्रा खोलाको पुलको निर्माण सम्पन्न भएको छ ।
पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा नहरसहितको पुल निर्माण भएको हो । पुलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले हालै उद्घाटन गरे ।

मुल्य अभिवृद्धि कर (भ्याट) बाहेक यस आयोजनाको कुल लागत २९ करोड ९७ लाख ५६ हजार सात सय ११ रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनामा अन्डग्राउण्ड सिँचाइको लागि नहर र त्यसमाथि पुल निर्माण भएको छ । पुलसँगै सिँचाइ आयोजनाको नहरले यसै क्षेत्रका हजारौँ बिघा खेतियोग्य जमिनलाई पनि फाइदा पुग्नेछ ।

सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १ सय ५३ मिटर लामो पुलमा ६ वटा स्प्यान रहेको छ । १६ मिटर गहिराइबाट उठाएको र १ डायमिटरमा रहेको पुल हाइवे स्टेण्डरमा बनाइएको छ ।

पुल र नहर निर्माणको लागि आशिष स्वामिनारायण आशिर्वाद जेभी धरानसँग २०७६ सालमा सम्झौता भएको थियो । पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिम समयसम्म भएपनि लगभग अढाई तीन महिना अगाडि नै पुल र नहर सम्पन्न भएको निर्देशक यादवले बताए । सम्झौता अवधि अगावै लोहन्द्रा साइफन र पुल निर्माण गरेकोमा निर्माण व्यवसायी सन्तोषकुमार बस्नेतलाई मन्त्री मोदीले आयोजनाको तर्फबाट सम्मान समेत गरे ।

धरानको सूर्या एण्ड सन्स प्रालिले २०७५ वैशाख १३ गतेदेखि ९७ मिटर लामो पुलको निर्माण शुरु गरेको थियो । सुनसरी मोरङ सिंचाई आयोजनाले ६८ हजार हेक्टर (करिब १ लाख विगाहा) क्षेत्रफलमा खेती गर्न सिंचाई सुविधा पुर्याउँदै आएको छ । ५० वर्षभन्दा अगाडि निर्माण सम्पन्न भएको आयोजनाका पुराना संरचना धेरै जिर्ण भइसकेका छन् ।

धेरैजसो संरचना इँटाले बनाएको कारण यसको पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको उनले बताए ।
इन्टेकबाट प्रतिसेकेण्ड ६० क्यूमेक क्षमतामा पानी आउने यादवले बताए । नरहको क्षमता ५२ क्यूमेक प्रतिसेकेण्ड हो । अहिले ५० देखि ५५ क्यूमेकसम्म चलाइरहेको बताउँदै निर्देशक यादवले हिउँदमा ३५ देखि ४० क्यूमेकसम्म चलेको बताए । यद्यपि हिउँदमा पूर्ण क्षमतामा चलाउनका लागि कोशीमा पानीको स्रोतमै कम भइरहेकोले सफल हुन नसकेको उनले बताए । सुनसरी मोरङ सिंचाई आयोजना कोशी सम्झौता अन्तर्गत सन् १९५४ सालबाट निर्माणको काम अगाडि बढेको थियो ।

२०७४ साउन २७ गते आएको बाढीले लोहन्द्रा खोलाको पुल र नहरको साइफन भत्काएको थियो । मूल नहरको साइफन र पुल बगाउँदा मोरङको पूर्वी क्षेत्रका १३ हजार ५ सय हेक्टर जग्गा सिँचाई विहीन बन्न पुगेको थियो । कुल ६० क्युमेक्स पानी बग्ने क्षमताको मुख्य नहरको १ सय ५३ मिटर लामो साइफन र एक लेनको पुल लोहोन्द्रा खोलाको बाढीले बगाएको थियो ।

पुल र साइफन निर्माणका लागि २०८० भदौ मसान्तसम्मको म्याद पाएका निर्माण कम्पनीले साइफनलाई प्राथमिकतामा राखेर निर्माण सुरु गरेको थियो । साइफन निर्माणमा अझै ग्यावियन, फलोर प्रोटेक्शन, रिटेनिङवाल निर्माण गर्न बाँकी छ । पुलको पनि माटोमुनिको काम सम्पन्न भइसकेकोले आउँदो वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको यादवले सुनाए । चालु आर्थिक बर्षमा साइफन र पुल निर्माणका लागि सुरुमा ७ करोड बजेट आएको तर कामको प्रगति हेरेर मन्त्रालयले थप १० करोड बजेट पठाइदिएकाले सहज भएको उहाँले बताए ।

भारत सरकारले २०२४ सालमा निर्माण गरेर २०३५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको आयोजनाका सबै संरचनाको आयु सकिसकेको छ । मुलुककै ठूलो सिँचाई आयोजना भए पनि सरकारले हरेक वर्ष करोडौं बजेट खर्चदै टालटुल गरेर सञ्चालन गर्दै आएको छ ।