मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल

  • १ कार्तिक २०८०, बुधबार

 अस्पताल विकास समितिको बैठकले  धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी थप गुणस्तरीय सेवा  प्रदान गर्दै जाने निर्णय गरेको छ ।

   धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन  तामाङको अध्यक्षतामा भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गरी अझ राम्रो, थप गुणस्तरीय र व्यवस्थित गर्ने लगायतका  निर्णयहरु भएको धनकुटा अस्पतालका प्रमुख डा. अभिताव ठाकुरले वताउनु भयो ।

बैठकमा धनकुटा अस्पताल विकास समितिका सदस्यहरु रोशेष श्रेष्ठ,विजय सन्तोषी राई, ममता अधिकारी,लिलानाथ मिश्र,कृष्ण श्रेष्ठ,अस्पताल प्रशासन शाखाका प्रमुख सिला  सुब्बा ,जिल्ला समन्वय समितिका खगेन्द्र चौलगाई लगायतले धनकुटा अस्पताललाई १ सय शैयाको रुपमा स्तरउन्नती गरी थप सेवाहरु विस्तार गरी नमुनाका रुपमा संचालन गर्नु पर्ने यसका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

बैठकले धनकुटा अस्पतालमा मिनि आई सि यू संचालन गर्ने, बिहान ८ बजेदेखि ओपिडि सेवा संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

 

 धनकुटा अस्पतालमा स्त्रिरोग विशेषज्ञ डा. अभिताव ठाकुर आउनु भएपछि धनकुटा अस्पतालको सेवामा विस्तार भई धनकुटा अस्पतालको विश्वसनीयता अझ बृद्धि भएको, अस्पतालमा शल्यक्रिया सेवा लगायतका थप सेवा विस्तार भएको र उपचार गर्न आउने बिरामीहरुको संख्यामा समेत वृद्धि भएको छ । धनकुटा अस्पताललाई  एक सय शैयामा विस्तार गर्ने योजना अनुसार भवन निर्माण शुरु भएको छ । धनकुटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार गर्दै सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन समन्वय गरी सहयोगका लागि  पहल भइरहेको धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले वताउनु भयो ।