ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि

  • ४ कार्तिक २०८०, शनिबार

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले जितेको  छ ।
झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले उछिन्दै ब्रिग्रेडले उपाधि जितेको हो ।

खेल सुरु भएको २ मिनेटमै अभिषेक गुरुङले गरेको गोल मार्फत बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो।  ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले गोल गरेका थिए ।
खेलको ३१ औं मिनेटमा ब्रिग्रेड खेलमा फर्कियो । दिपेश आलेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अबस्थामा कसैको नजरमा नपरेका दिपेशले डि एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो ।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट बिमुख हुनुपर्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकर तर्फ धकेलियो । ट्राइबेकरमा ब्रिग्रेडका रोशन राना, एन्जल महर्जन ,दिपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र बिक्रम लिम्बुले गोल गरे ।

बिधागत पुरस्कारतर्फ पनि ब्रिग्रेडले कब्जा जमायो । खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ घोषित भए । उत्कृष्ट खेलाडीमा ब्रिग्रेडका जय गुरुङ, उत्कृष्ट गोल किपर विशाल सुनार र डिफेन्स पदम भट्टराई र हाइ स्कोरर दिपेश आले पुरस्कृत हुदा उत्कृष्ट फरवर्ड बिर्तामोडका आशिष चापागाईं घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । असोज २६ गतेदेखि भएको बेलबारी गोल्डकपमा नेपाल र भारतका ८ टोली सहभागी थिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले बिजेता र उपबिजेता टीम तथा खेलाडीहरुलाइ पुरस्कृत गरे । खेलको बिजेता ब्रिग्रेड ब्वाइज क्लबले ट्रफीसहित ८ लाख र उपबिजेता बिर्तामोडले ५ लाख प्राप्त गरेको छ ।