बजेट अभाव भएपछि तमोर नदीमा काठे पुल निर्माण गर्दै फक्ताङ्लुङ गाउँपालिका

  • २२ कार्तिक २०८०, बुधबार

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा  काठका पुलहरु निर्माण गरेको छ ।

पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँ–गाउँसम्म आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले काठका पुल निर्माण गरेको हो ।

सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ। फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायी रूपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ।

भौगोलिक रूपमा विकट  फक्ताङ्लुङ गाउँपालिका तमोर नदीको दुवैतर्फ पर्छ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नं ६ लेलेप तमोर नदीको एकापट्टी र  वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको अर्कोपट्टी पर्छन्।

गाउँ–गाउँमा सडक सञ्जालले जोडिए पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पुल निर्माणपछि अहिले गाउँ–गाउँमा यातायात सेवा पुगेको फक्ताङ्लुङ गाउँपालिका–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताए।

यसअघि पक्की मोटरेबल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ–गाउँमा सवारीसाधन पुर्‍याउँदै आएको छ। अन्य ठाउँमा आवश्यकतानुसार काठेपुल निर्माण गर्दै जाने लिम्बूले बताए ।