मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति

  • १३ मंसिर २०८०, बुधबार

केही दिनयता बेलबारी, लेटाङ, केराबारी लगायत मोरङका विभिन्न स्थानमा जंगली हात्तीले स्थानीय बासिन्दाहरुलाई आतङ्कित बनाएको छ ।

करिब एक हप्ता अघि बेलबारी क्षेत्रमा देखा परेको दर्जनभन्दा बढी हात्तीको हुलले गत राति लक्ष्मीमार्गमा जताततै आतंक फैलाएको छ ।

चार पाँच दिनअघि बेलबारी बजार आसपास आतंक मच्चाएको दर्जनभन्दा बढी हात्तीको  करिब १२ वटा हात्ती लक्ष्मीमार्गमा प्रवेश गरेर आतङ्कित बनाएको थियो ।
हात्तीले २ घरमा क्षति पुराएको छ । लक्ष्मीमार्गबाट इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी, दमकल, स्थानीयको सहयोगमा खेदाउँदा उत्तर पूर्वपश्चिम मुख्य सडक हुँदै जङ्गल तर्फ हात्ती प्रवेश गरेको छ ।
बथानमा करिब ६ भन्दा बढी बच्चाहरू पनि रहेको स्थानीयहरूले बताएका छन् ।

मङ्सिर ८ गते बेलुकी पनि करिब २७ वटा सङ्ख्यामा रहेको हात्तीहरूले बेलबारी ३ मा रहेको खपतरी बस्नेत धार्मिक बन भित्रको टिनको छानो भएको घरको संरचना भत्काउनुको साथै बेलबारी ३ र ४ मा लाखौँको अन्नबाली तथा फलफूलका रुख बिरुवाहरूको क्षति भएको थियो ।

त्यसो त झण्डै एक हप्तादेखि बारम्बार ठाउँ ठाउँमा हात्ती आउन थालेपछि केराबारी ९ को बेलचौरी, देवीझोडा लगायत आसपासका क्षेत्रमा पनि आतंक छाएको स्थानीय सार्के रसाइलीले बताए । स्थानीय बासीहरु घाँस दाउरा लिन जंगल जान पनि डराउन थालेका छन् । सोमबार राति देवीझोडाको स्कुल चोक नजिकै हात्ती आएको थियो । मंगलबार राती पनि दर्जनभन्दा बढी हात्तीको हुल देवीझोडाको गाउँ प्रवेश गरेर जंगलतर्फ प्रवेश गरेको स्थानीय तारा कार्कीले बताइन् ।

त्यसो त गत बर्ष पनि यस क्षेत्रमा हात्तीले आतंक मच्चाएको थियो । सुन्दरहरैचा क्षेत्रको जंगलमा मानिसको ज्यानै लिएको हात्तीले देवीझोडाकी एक युवतीलाई अपाङ्ग नै बनाइदिएको छ ।