बेलबारीबाट यसरी रातारात इनरुवा सारियो प्रदेश प्रहरी अस्पताल (भिडियोसहित)

  • २८ मंसिर २०८०, बिहीबार



मोरङको बेलबारी नगरपालिकामा स्थापना गरिएको कोसी प्रदेश  अस्पताल ९ महिनाको समयावधिमै रातारात सुनसरीको इनरुवा  सारिएको छ।

बेलबारी नगरपालिका( ३ स्थित पुरानो इलाका प्रहरी कार्यालयमा रहेको अस्पताल २०८० मंसिर २६ गते राती इनरुवा सारिएको हो । २० करोड लागतमा भवन निर्माण कार्य सम्पन्न भइसकेको नगर अस्पतालको भवन उपलब्ध गराउने तयारी भइ रहेको अवस्थामा गुपचुपमा रातारात अस्पताल सारिएकोमा बेलबारी नगरपालिकाले आपत्ति जनाएको छ।

गत बर्ष फागुन ११ गते तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पतालको शुभारम्भ गरेका थिए । तर एक वर्ष नपुग्दै उक्त अस्पताल सबै सामानसहित इनरुवामा सारिएको हो ।

मोरङको बेलबारी नगरपालिका, राजनीतिककर्मी, बुद्धिजीवी, समाजसेवी, जग्गादाता, सर्वसाधारणले कोशी प्रदेश प्रहरी अस्पताललाई यथास्थानमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

बुधबार  नगरपालिकाले पत्रकार सम्मेलन गर्दै अस्पताललाई मध्यरातमा अपहरणशैलीमा सुनसरीस्थित जिल्ला समन्वय समितिमा अनधिकृत रुपमा स्थानान्तरण गरिएकोमा आपत्ति जनाएको छ ।

अस्पताल सञ्चालनमा नगरपालिकाले आवश्यक सहयोग नगरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नगर उपप्रमुख नितु कोइरालाले अस्पताल सञ्चालनको विषयमा प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यको लागि छलफल भएको दाबी गरिन्।

उपमेयर कोइरालाले अनधिकृत रुपमा र छापामार शैलीमा स्थान्तरण गरिएको अस्पताल पुनः सोही स्थानमा स्थापना गर्न माग गरिन्। उपमेयर कोइरालाका अनुसार अस्पतालका लागि जग्गा खोजी भइरहेको थियो।

नगरपालिकाले अस्पताल सञ्चालनका क्रममा चिकित्सकको आवासको व्यवस्थापन, अस्पतालको रङरोगन, सुरक्षा निकायलाई इन्धनको व्यवस्था, चालु वर्षको बजेटमा समेत अस्पताल व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ।

त्यसैगरी, नगरपालिकाको नगर अस्पतालको नवनिर्मित भवनमा प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्दै प्रदेश प्रहरीको अस्पतालका लागि भवन निर्माण प्रक्रिया अघि बढाउन काम भइरहेको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

बेलबारी नगरपालिकाका पुर्व मेयर तथा प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले डकैती शैलीमा प्रहरीका हाकिमहरुले आफ्नो घर नजिकै पार्त अस्पताल सारेको बताए । कांग्रेस प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले स्थानीय, प्रदेश तह कतै समन्वय नगरी प्रहरीले अस्पताल सार्नुलाई लज्जास्पद भएको बताए। बुधबार नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा स्थानीय संघ संस्था तथा दलका प्रतिनिधि, ब्यापारी ब्यबशायी तथा जनप्रतिनिधिहरुको पनि उपस्थिति थियो ।  गेटमा पत्रकार सम्मेलन भइरहँदा प्रहरीले कसैलाई पनि यसअघि प्रादेशिक अस्पताल परिसरमा जान दिएनन् ।

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले प्रहरीले माग गरे अनुसार दुई बिघा जग्गा खोजिदिँदा र २० करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको नगर अस्पताल नै दिन खोज्दा पनि सल्लाह नगरी अस्पताल सारेको बताए ।

अस्पतालमा प्रयोग भएका विभिन्न २६ वटा सामग्री नगरपालिकाले उपलब्ध गराएको जनाएको थियो । बेलबारीमा इलाका प्रहरी कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाल बेलबारीमा ठाउँ साँघुरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवा सारिएको दाबी गरे । साँघुरो भवनमा अस्पतालका लागि आवश्यक उपकरण राख्ने ठाउँ नभएपछि सारिएको  बास्तोलाको दाबी छ ।

इनरुवा नगरपालिकाको मेयर भएका बेला अघिल्लो कार्यकालमा नै प्रहरीको अस्पताल इनरुवा लैजान चाहेका राजन  मेहताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख भएको मौका पारी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की मार्फत प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सार्ने वातावरण बनाइएको बताइन्छ   ।