विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाइयो सुकुना मा.वि.को ५२ औं वार्षिकोत्सव

  • ३ पुष २०८०, मंगलवार

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाएको छ ।
बिक्रम सम्बत २०२९ सालमा खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिण तर्फ डि. पूर्णबहादुर श्रेष्ठको जग्गामा सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको थियो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, राष्ट्रिय सभा सदस्य गाेपी अच्छामी, संविधान सभा सदस्य चन्द्रबहादुर गुरूङ लगायतको आतिथ्यतामा ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । सोही अबसरमा नेपाल सरकारको लगानीमा बनेको होटल म्यानेजमेन्ट ब्लकको ६ कोठा भएको दुइ तले भवनको उद्घाटन समेत भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । अङ्ग्रेजी माध्यमको पढाई समेत संचालन गर्दै आएको विद्यालयले कक्षाकोठाहरुलाइ बिज्ञान तथा सूचना प्रविधियुक्त बनाउँदै लगेको छ । ५२ औं वार्षिकोत्सवमा विद्यालय परिसरलाइ प्लास्टिक मुक्त बनाउने घोषणा समेत गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रमको मुख्य आकर्षण बिज्ञान, इन्जिनियरिङ तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरुले बनाएका बिज्ञान सामग्रीहरुको प्रदर्शनी थियो । विज्ञान, इन्जिनियरिङ र होटल म्यानेजमेन्टका विद्यार्थीले राखेका स्टलहरुको अवलोकन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले विद्यार्थीहरुले निर्माण गरेका सामाग्री अत्यन्तै सृजनात्मक र उपयोगी भएको बताए ।
इन्जिनियरिङका विद्यार्थीहरुले स्टलमा ओभरहेड बृज, पक्की बिल्डिङ जस्ता नमूना स्टल राखेका थिए । त्यस्तै बिज्ञानका विद्यार्थीहरुले हाइड्रोपावर, पुरातात्त्विक महत्त्वका मही पार्ने ठेकी मदानी आदिदेखि गोरुगाढा, माहुरी घार, ज्वालामुखी, भुकम्प जाँदा बज्ने साइरन लगायतका सामग्रीहरु प्रदर्सनमा राखेका थिए ।
त्यसैगरी होटल म्यानेजमेन्टका विद्यार्थीले खाना तथा खाजाका विभिन्न प्रकारका स्टलहरु प्रदर्शनी गरेका थिए । अतिथिहरुलाइ तिनै परिकारहरुबाट खाजा खुवाइएको थियो ।
विद्यालय नर्सिङ कार्यक्रम संचालन २ जना नर्सहरुले पनि विद्यार्थीहरुको सहयोगमा स्वास्थ्य प्रदर्शनी गरेका थिए । जस अन्तरगत पौष्टिक आहार तथा पोषण, परिवार नियोजन, महिनावारी उच्च रक्तचाप र मधुमेह आदिबारे सूचनामुलक सामग्री प्रदर्शन गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा दाताद्वारा राखिएको अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले नाटक र साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृकाप्रसाद ढकालको सभापतित्वमा भएको बार्षिकोत्सव कार्यक्रम राजेन्द्रप्रसाद गिरी तथा जगतबहादुर वनले सञ्चालन गरेका थिए ।