प्रदेश प्रहरी अस्पतालका लागि २ बिघा १३ कट्ठा जग्गा र १ करोड बजेट दिने बेलबारी नगरपलिकाको निर्णय

  • ११ पुष २०८०, बुधबार

बेलबारी नगरपालिकाले बेलबारीमा पुनर्थाप्पना हुने कोशी प्रदेश प्रहरी अस्पताल संचालनका लागि १ बिघा ३ कट्ठा नम्बरीसहित कुल २ बिघा १३ कट्ठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । बैठकले बेलबारी १ मा अबस्थित पूर्व पश्चिम राजमार्गबाट ४ सय ३० मिटर उत्तर प्रस्तावित बसपार्क क्षेत्रको  दाताबाट पास हुन बाँकी ३ कट्ठा १२ धुरसहित बेलबारी नगरपालिकाको नाममा कायम रहेको एक बिगाह तीन कट्ठा साडे उन्नाइस घुर नम्बरी जग्गा) जग्गा र सो जग्गासँगै जोडीएको नगरपालिकाको हकभोगमा रहेको २ बिघा १६ धुर सार्वजनिक जग्गा मध्येबाट एक विगाह दश कट्टा गरी कुल २ बिगाह १३ कट्ठा जग्गा कोशी प्रदेश प्रहरी अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि हक हस्तान्तरण सहित उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले प्रदेश प्रहरी अस्पतालको भौतिक पूर्वाधार निर्माण नभइन्जेल सम्मका लागि हाललाई बेलबारी नगरपालिका वडा नं. ४ मा निर्माण सम्पन्न हुन लागेको नगर अस्पतालको भवन पूर्ण रूपमा संचालन र उपयोग गर्न दिने निर्णय पनि गरेको छ । साथै कोशी प्रदेश प्रहरी अस्पताललाई नगरपालिकाले उपलब्ध गराउने जग्गामा भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि भएको छ ।

कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा. १० लाख रुपैयाँ बिनियोजित भएकोमा सो रकममा १० लाख नै थप  गरी कुल बार्शिक २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

कोशी प्रदेश प्रहरी अस्पतालको सञ्चालन, ब्यबस्थापन तथा भौतिक पुर्वाधार निर्माणका लागि अन्तरपालिका स्तरमा समन्वय गरी प्रत्यक्ष रूपले लाभान्वित हुने  आसपासका पालिकाहरुबाट पनि सहयोगको वातावरण बनाउन  पहल गर्ने निर्णय भएको बेलबारी नगरपालिका ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले जानकारी दिए ।

यसअघि २०७९ फागुनमा बेलबारी३ स्थित पुरानो ईलाका प्रहरी कार्यालय परिसरमा प्रहरी प्रादेशिक अस्पताल उद्घाटन भई संचालन हुँदै आएको थियो तर भवन निर्माणका लागि उपयुक्त र पर्याप्त जग्गा तथा पुर्वाधार नभएको भन्दै अचानक २०८० मंसिर २६ गते राती प्रहरी प्रादेशिक अस्पताल इनरुवा सारिएको थियो । चौतर्फी दाबाब र बिरोधपछि मोरङ तथा बेलबारीका नेताहरू र जनप्रतिनिधिको टोली काठमाडौ गई प्रधानमन्त्री र नेपाल प्रहरीका आइजिपीसहित प्रहरी अस्पतालको  टिमलाई भेटेर  प्रादेशिक प्रहरी अस्पताल बेलबारीमै पुनस्थापना  गराउने सहमति गरी फर्केको थियो ।

सोही अनुसार केहि दिनअघि नेपाल प्रहरीको टोलीले जग्गा र पुर्वाधार हेरेर फर्किएको बताइएको छ । तत्कालका लागि भौतिक पुर्वाधार र भविष्यका लागि भौतिक पुर्वाधार निर्माण गर्न जग्गा समेत उपलब्ध भएपछि प्रहरी प्रादेशिक अस्पताल बेलबारीमै पुनस्थापित हुने पक्का भएको छ ।