पाँचौ राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्णसहित २२ पदक जित्दै प्रथम भयो मच्छिन्द्र स्कुल

  • ३ माघ २०८०, बुधबार

केराबारीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल सरकार खेलकुद मन्त्रालय, खेलकुद विभाग अन्र्तगत तयार गरिएको खेलकुद नीति एवं निर्देशिका बमोजिम वार्षिक क्यालेण्डरमा नै समेटेर हरेक स्थानीय तहमा गरिने प्रतियोगिता केराबारीमा सम्पन्न भएको हो ।

पालिका भरीका स्कुलहरुबाट छनौटमा परेका १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुबिच २७ वटा खेलमा प्रतिस्पर्धा गराइएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ संस्थागत र १० सामुदायिक विद्यालय गरी दर्जन विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

केराबारी रंगशालामा भएको प्रतियोगितामा मच्छिन्द्र माविले १५ स्वर्ण ५ रजत र २ कास्य सहित २२ पदकका साथ प्रथम भएको छ । त्यसैगरी भलिबल बाहेक सरस्वती माविले ३ स्वर्ण ११ रजत र १ कास्य सहित १५ पदक प्राप्त गरेको छ । जनकल्याण माविले ३ स्वर्ण ३ रजत र ६ कास्य सहित ११ पदक प्राप्त गरेको छ ।

सार्वजनिक मावि डाँगीले १ स्वर्ण ३ रजत ४ कास्य सहित ८ पदक, सावित्री मावि सतिसालेले १ स्वर्ण २ रजत र ३ कास्य सहित ६ पदक , लक्ष्मी मावि भलुवाले २ स्वर्ण १ कास्य सहित ३ पदक, फेवा सेकेण्डरी बोर्डिंग स्कुलले १ स्वर्ण र १ रजत सहित २ पदक हात पारेको छ । गोपाल मेमोरियलले कुनै पनि पदक प्राप्त नगरेपनि रामपुर माविले २ कास्य, कल्याणकारी माविले १ रजत १ कास्य र केयु एकेडेमीले १ कास्यमा चित्त वुझाएका छन् ।

पौष २७ देखि २९ सम्म केराबारी गाउँआलिकाको आयोजनामा भएको संञ्चालन भएको प्रतियोगितालाई यस पटक वुद्ध माविले संयोअन गरेको थियो ।
तर केराबारीमा भएको पाँचौं संस्करणको यो खेलकुद प्रतियोगिता विवाद रहित हुन सकेन । प्रतियोगिता संञ्चालनका लागि विवाद निरुपण समिति,प्रतियोगिता निर्देशन तथा खेल व्यवस्थापन समिति समेत बनाइएको भए पनि त्यो निरर्थक सावित भयो । प्रतियोगिताको अन्तिम दिन भलिबल प्रतियोगिताको फाइनलमा खेल नगराई गुपचुपमै पुरस्कार वितरण गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन निर्देशिकामा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराउन पाइने प्रावधान छ । विद्यालयहरुले सोही अनुसार विद्यार्थी छनौट गरी सिफारिस गर्नुपर्ने र सिफारिस गरिएका कागजपत्रहरुको छानविन विवाद निरुपण तथा छानविन समितिले प्रमाणित गरेपछि प्रतियोगितामा सहभागि गराइने व्यवस्था छ ।
तर यति हुँदा हुँदै पनि फाइनल खेलमा मच्छिन्द्र माविका २ जना विद्यार्थीहरुको उमेर ४ दिनले वढी भएको भन्दै विवाद निरुपण समितिले खेल्न नदिएपछि विबाद बढेको थियो । विवादका कारण मच्छिन्द्र माविका विद्यार्थीले प्रतियोगिता स्थलमा टांगिएको नेट जाली काटीदिए । हरेक विद्यालयले शिक्षक प्रतिनीधि र प्रधानाध्यापकहरु पनि विद्यार्थीहरुसामु निरीह देखिए ।