सुपर्ब स्कुलले भब्य रुपले मनायो २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

  • २१ फाल्गुन २०८०, सोमबार

पथरी समाचारदाता । मोरङको पथरी शनिश्चरे–४ किर्तिपूरमा स्थापित सुपर्ब बोर्डिङ स्कुलले २ दिनसम्म विभिन्न कार्यक्रम गरी २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ ।
स्कुलले कार्यक्रमको पहिलो दिन अभिभाकहरूमा प्रशिक्षण कार्यक्रम, म्युजिकल चियर, क्याच द बोतल लगायतको खेलहरू आयोजना गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा आफ्नो नानी बाबुहरूलाई कसरी अध्ययनसँगै अन्य गतिविधिहरूमा सक्रिय बनाउने, विद्यालय तथा घरको वातावरण, अभिभावक र बालबालिका विच कस्तो सम्बन्ध राख्ने भन्ने बारे छलफल भएको विद्यालयका प्रिन्सिपल सन्तोष बस्नेतले जानकारी दिए।
सो अवसरमा विद्यालयले पिजी देखि कक्षा ८ सम्मका उत्कृष्ट एवम् विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक, कल्चरल शो लगायतका प्रस्तुतिहरू पस्केका थिए । नगरभित्र बसोवास गर्ने विभिन्न जातजातीको भेष–भूषामा सजिएको सांस्कृतिक प्रस्तुतिले अभिभावक तथा अतिथिहरूको ध्यान खिचेको थियो ।

पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिकग्राम काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन कोशी प्रदेश सहसचिव नवल किशोर खनाल, नगर प्याब्सन सल्लाहाकार उपेन्द्र कडेँल, प्याब्सन जिल्ला कमिटी सल्लाहकार टिका दंगाल, प्याब्सन नगर कार्य समिति सदस्य सुजन बास्तोला, वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, समाजसेवी जहरमान लिम्बु लगायतको उपस्थिति थियो ।
विद्यालयका प्रिन्सिपल सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रलाई विद्यालयका शिक्षक गणेश भट्टराईले संचालन गरेका थिए ।