मदन भण्डारी राजमार्ग बनेपछि स–साना बजार पनि व्यापारिक केन्द्र बन्दै

  • २६ फाल्गुन २०८०, शनिबार

सरकारको प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएसँगै कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरमा ब्यापारिक चहलपहल बढ्म थालेको छ ।

राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक रु एक अर्ब चार करोडमा ठेक्का लागेको छ ।

यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ । यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताए ।

यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ । ‘सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको छ , सोचेअनुरूप प्रगति गर्न सकिएको छैन’, प्रमुख खकुरेलले भने ।

दैनिकजसो हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउँछन् ।